दिउँसै टर्च बालेर शिक्षकले गरे सरकारको विरोध (तस्बिरहरू)

मंगलबार, २६ चैत, २०८१
डिजिटल संस्करण

शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरूले दिउँसै टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन् ।

बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीहरूले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका हुन् । उनीहरूले छिटो शिक्षा ऐन जारी गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए ।

काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले चैत २५ गतेदेखि आम शैक्षिक हडताल घोषणा गरेका छन् । शिक्षकहरूको आन्दोलनले एसइई परीक्षाको उत्तरपुस्तिका परीक्षणसमेत प्रभावित हुँदा नतिजा प्रकाशनमा ढिलाइ हुने चिन्ता छ ।

शिक्षकहरूले यसअघि कालोपट्टी बाँधेर, सिटी फुकेर र मौन भएर पनि प्रदर्शन गरेका थिए । आज उनीहरूले मोबाइल र हेड ल्याम्प प्रयोग गरेर सरकारको ध्यानाकर्षण गराउने प्रयास गरेका छन् ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षक आन्दोलनमा छन् । यसैक्रममा उनीहरूले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरूले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् ।

See More On

सुझावित समाचार