इजरायली नरसंहारका सारथि पश्चिमा मिडिया

मंगलबार, २५ चैत, २०८१
डिजिटल संस्करण

पश्चिमा मिडियाले इजरायली स्रोतलाई अत्यधिक प्राथमिकता दिन्छन् तर स्रोतका दाबीलाई चुनौती दिँदैनन् 

प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटी र सिभिल डिफेन्सका १५ जना सदस्य मारिएका छन् । ती लडाकु या आतंककारी थिएनन् । रकेट वा हतियार लुकाएका मानिस पनि थिएनन् । उनीहरू सामान्य सहायताकर्मी र मानवतावादी थिए । ती मानिस बम खसेपछि घाइतेतर्फ दौडिने स्वास्थ्यकर्मी थिए । तर, यी मानिस अरूको ज्यान बचाउने प्रयासमा आफ्नै ज्यान गुमाउने व्यक्ति बन्न पुगे ।

२३ मार्चमा गाजाको दक्षिणी सहर रफाहमा इजरायली फौजले एम्बुलेन्स र आपत्कालीन सवारीको एक लस्करलाई निसाना बनायो । आठजना रेड क्रिसेन्टका कर्मचारी, ६ जना प्यालेस्टिनी सिभिल डिफेन्सका सदस्य र एकजना संयुक्त राष्ट्रसंघका कर्मचारी मारिए । इजरायली सेनाले ती सवारीसाधन चिह्न नलगाइएका र तिनमा लडाकु हुन सक्ने शंका रहेको झुटो दाबी गर्यो । हत्या गरिएका स्वास्थ्यकर्मी रिफात रदवानको मोबाइलबाट प्राप्त भिडियोमा रातो बत्ती र स्पष्ट चिह्न भएका सवारीसाधन देखिन्छन् र कतै पनि हतियार देखिँदैन । भिडियोमा इजरायली गोलीबारीपछि रिफात र १३ अन्यको शव सामूहिक चिहानमा फेला पर्यो । तीमध्ये केहीको छाती वा टाउकामा गोली लागेको थियो र केहीको हात बाँधिएको थियो, अर्थात् गोली हानेर हत्या गरिएको प्रमाण झल्कन्थ्यो । मरेपछि समेत यी सहायताकर्मीले आफूहरू सहायताकर्मी रहेको प्रमाण दिनुपर्ने अवस्था देखियो । तैपनि, धेरैजसो पश्चिमा सञ्चारमाध्यमले इजरायलको भनाइलाई पहिलो प्राथमिकता दिए । अर्थात् ‘इजरायल भन्छ...’, ‘आइडिएफका अनुसार...’, ‘सैन्य स्रोतले बतायो...’ जस्ता वाक्य समाचारमा बग्रेल्ती देख्न सकिन्छ । यी शब्दले रेड क्रिसेन्टका रगतले लतपतिएका पोसाकभन्दा बढी महत्व राख्छन्, किनभने यी प्रमाण र सत्यभन्दा बढी हुन् । यो कुनै एकपटकको भुल होइन, यो त एक प्रणाली हो ।

यस्तो प्रणाली जहाँ प्यालेस्टिनीलाई दोषी ठानिन्छ । जहाँ अस्पतालले अस्पताल भएको प्रमाण दिनुपर्छ, बालबालिकाले आफू मानव ढाल नभएको साबित गर्नुपर्छ । जहाँ हाम्रो अस्तित्वलाई खतरा मानिन्छ र हामीले शोक मनाउनका लागि पनि स्पष्टीकरण दिनुपर्छ र प्रमाण खोजिन्छ । वास्तवमा यही हो अमानवीकरण । म गाजामा जन्मेँ र हुर्केँ । त्यसकारण मलाई रेड क्रिसेन्टको ज्याकेटले के अर्थ राख्छ भन्ने थाहा छ । ज्याकेट एक आशा हो । त्यो सहयोगका लागि र मान्छे बचाउन आएको व्यक्ति हो न कि लड्न वा मार्न । भग्नावशेष र मृत्युबिच पनि त्यो ज्याकेटले जीवन अझै कसैका लागि महत्वपूर्ण छ भन्ने देखाउँछ । आशाविहीन हुनु अर्थात् स्वास्थ्यकर्मी मारिएका देख्नु, बदनाम पारिएको सुनिनु र तिनका सहकर्मीले सामूहिक चिहान खोतलिरहेका देख्नुबारे मलाई थाहा छ । ज्यान जोगाउनेले आफ्नो पहिचान गुमाएर आँकडामा झारिनु, अपराधीका रूपमा चित्रित हुनु र विस्मृतिमा जानु नियति हो ।

अमानवीकरण केवल भाष्य मात्रै होइन । यसले मानिस मार्छ र उनीहरूको अस्तित्व नामेट पार्छ । यसले संसारलाई आँखा चिम्लिन दिन्छ जब कि समुदायहरू नै नासिन्छन् । अमानवीकरणले तिम्रो जीवनको मूल्य छैन भन्छ । जबसम्म हामी प्रमाणित गर्दैनौँ तिम्रो पीडा वास्तविक होइन भन्छ वा जबसम्म हामी स्विकार्दैनौँ तिम्रो मृत्यु दुःखद होइन भन्छ ।

यही कारणले १५ जना स्वास्थ्यकर्मीको मृत्यु महत्वपूर्ण छ । यो केवल एक घटना मात्रै होइन, यो प्रणालीगत सन्देह र अमानवीकरणको कथा हो, जुन हरेकपटक प्यालेस्टिनी मारिँदा सुरु हुन्छ । जहाँ हामी शोक मनाउँदै आफैँ प्रमाण खोज्ने, कानुनी रक्षा गर्ने, सञ्चार–संवाद गर्नुपर्ने स्थिति भोग्छौँ । यो बोझ अरू कसैमाथि थोपरिँदैन । जब पश्चिमा पत्रकार मर्छन्, तिनलाई सम्मान गरिन्छ । जब इजरायली नागरिक मर्छन् तिनका नाम र अनुहार विश्वभर देख्न सकिन्छ । तर, जब प्यालेस्टिनी मर्छन् तब उनका परिवारले प्रमाणित गर्नुपर्छ कि उनीहरू आतंककारी थिएनन् । हामी प्रमाणित नहुन्जेल सधैँ दोषी मानिन्छौँ ।

अनुसन्धानले पश्चिमा मिडियाले इजरायली स्रोतलाई अत्यधिक प्राथमिकता दिन्छन् भन्ने देखाएको छ र यी मिडियाले इजरायली स्रोतका दाबीलाई चुनौती दिँदैनन् । प्यालेस्टिनी आवाजलाई नजरअन्दाज गरिँदैन बरु अविश्वसनीय वा अत्यधिक भावुक सूचनाका रूपमा प्रस्तुत गरिन्छ मानौँ शोकले सत्यलाई निषेध गर्छ र पीडाले हामीलाई अतार्किक बनाउँछ ।

मिडियाको यो प्रवृत्तिले हतियार सम्झौतादेखि लिएर राष्ट्रसंघमा लागू गरिएको भिटोसम्मका राजनीतिक निर्णयमा असर गर्छ । सबै कुरा आपसमा गाँसिएका छन् । जब प्यालेस्टिनीलाई पूर्ण रूपमा मानवसरह हेरिँदैन तब तिनका हत्यारालाई पनि पूर्ण रूपमा जिम्मेवार मानिँदैन ।

भावनात्मक बोझ असह्य हुन्छ । हामी केवल शोक मनाउँदैनौँ हामीले आफ्नो शोक प्रमाणित गर्नुपर्छ । हामी केवल मृतकलाई गाड्दैनौँ हामीले तिनको मृत्युलाई मान्यता दिलाउन लड्नुपर्छ । हामी निरन्तर यस्तो मानसिक दबाबमा बाँचिरहेका छौँ, जहाँ हामी आफूलाई त्यो होइन भनेर प्रमाणित गर्नुपर्छ जुन पहिल्यै हामीमाथि थोपरिएको हुन्छ । यी १५ जना स्वास्थ्यकर्मी र उद्धारकर्ता नायक थिए । ती मानिसको ज्यान बचाउन खतरातर्फ दौडे, जहाँ जीवन सधैँ संकटमा हुन्छ । तिनको सम्झना पवित्र हुनुपथ्र्यो, तर उल्टै तिनको कथालाई अर्को युद्धभूमि बनाइयो । 

विश्वले अब हामी प्यालेस्टिनीलाई मानव हुनको प्रमाण दिन बाध्य पार्नबाट रोक्नुपर्छ । हामी झुट बोल्छौँ र हाम्रा हत्यारा साँचो बोल्छन् भन्ने मान्यता अब अन्त्य हुनुपर्छ । यी स्वास्थ्यकर्मी विश्वास, सुरक्षा र न्यायका हकदार थिए । तर, सबैभन्दा पहिले ती हामी सबै मानवजत्तिकै हकदार थिए ।

(नजर राजनीतिक विश्लेषक एवं नाटककार हुन्) 
अल जजिराबाट

 

सुझावित समाचार