१८ घण्टा खुल्यो त्रिभुवन विमानस्थल, थपिए ११ अन्तर्राष्ट्रिय उडान

२७ वैशाखदेखि भारतको स्पाइस जेटले दिल्ली–काठमाडौं दैनिक उडान गर्ने

मंगलबार, २५ चैत, २०८१
डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)को उडान आवर बढेसँगै ११ अन्तर्राष्ट्रिय उडान थपिएका छन् । १ अप्रिलदेखि लागू भएको समर सिजनमा दैनिक ५५ अन्तर्राष्ट्रिय उडान (अराइभल र डिपार्चर गरी ११०) भइरहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

यसअघि त्रिभुवन विमानस्थलमा दैनिक ४४ फ्लाइट (अराइभल र डिपार्चर गरी ८८) हुँदै आइरहेका थिए । धावनमार्गबाट ७५ मिटर क्षेत्रभित्रको जोखिमपूर्ण निर्माण सम्पन्न भएपछि १९ चैतदेखि विमानस्थल दैनिक १८ घण्टा (बिहान ६ बजेदेखि राति १२ बजेसम्म) खुला गरिएको छ । त्यसअघि १६ घण्टा उडान सेवा सञ्चालनमा थियो । विमानस्थल सञ्चालन अवधि बढेसँगै उडानहरू पनि बढेका हुन् ।

त्रिभुवन विमानस्थलको सञ्चालन अवधि बढेपछि वायुसेवा कम्पनीले भैरहवाको अन्तर्राष्ट्रिय उडान स्थगित गरेका छन् । विन्टर सिजनदेखि जजिरा, फ्लाई दुबई, थाई एयर एसियाले भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्न थालेका थिए । समर सिजनमा कुनै पनि वायुसेवा कम्पनीले भैरहवामा अन्तर्राष्ट्रिय उडानको अनुमति लिएका छैनन् ।  

विन्टर सिजनमा भैरहवामा अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्स र सिचुवान एयरलाइन्सले कमर्सियल उडान सुरु गरेका छन् । विमानस्थल निर्माण भएको करिब २७ महिनापछि पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू फुल भइसकेको महाप्रबन्धक निरौलाले बताए । ‘अहिले अन्तर्राष्ट्रियतर्फ अराइभल र डिपार्चर गरी दैनिक एक सय १० फ्लाइट हुन थालेका छन्,’ उनले भने, ‘अब नयाँ फ्लाइट थप्न स्लट दिन सक्ने स्थिति छैन, विमानस्थल पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ ।’

२३ कात्तिक ०८१ अघि त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा (बिहान ६ बजेदेखि राति २ बजेसम्म) सञ्चालन हुँदै आएको थियो । तर, विमानस्थल स्तरोन्नतिका कारण अहिले १८ घण्टा मात्र सञ्चालन भइरहेको छ । त्यहाँ ट्याक्सी वे, अन्तर्राष्ट्रिय एप्रोन, आन्तरिक एप्रोन, आन्तरिक वायुसेवाका लागि ह्यांगरलगायत निर्माणको काम भइरहेको छ । 

स्पाइस जेटले उडान थाल्ने
भारतको निजी क्षेत्रबाट सञ्चालित बजेट एयरलाइन्स स्पाइस जेटले पाँच वर्षपछि काठमाडौंमा नियमित उडान थाल्ने भएको छ । स्पाइस जेटले २७ वैशाखदेखि दिल्ली–काठमाडौं दैनिक एउटा उडान गर्ने तालिका सार्वजनिक गरेको छ । स्पाइस जेटले हिमालयन ग्लोबल ट्राभल सर्भिसेज प्रालि जनरल सेल्स एजेन्ट (जिएसए) नियुक्त भएको छ ।

सुझावित समाचार