एरिकाले फेरि जितिन् स्वर्ण

अस्ट्रेलियन ओपन कराँते च्याम्पियनसिपमा पाँचजना खेलाडी सहभागी हुँदा एरिका गुरुङले ६८ केजीमाथि तौल समूहमा नेपाललाई जिताइन् स्वर्ण पदक

आइतबार, २४ चैत, २०८१
डिजिटल संस्करण

कराँते खेलाडी एरिका गुरुङले अस्ट्रेलियन ओपन कराँते च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएकी छिन् । शनिबार एरिकाले ६८ केजीमाथि तौल समूहमा पदक जितेको प्रशिक्षक कुशल श्रेष्ठले बताए । ‘एरिकाले फेरि स्वर्ण पदक जिताएकी छिन् । हामी सबैजना खुसी छौँ । यो गौरवको क्षण हो,’ प्रशिक्षक श्रेष्ठले अस्ट्रेलियाबाट नयाँ पत्रिकालाई बताए । एरिकाले तीन अंक नै सहजै जितेकी थिइन् । श्रेष्ठका अनुसार पहिलो फाइट एरिकाले ९–०, दोस्रो ८–० र तेस्रो ५–० ले जितेकी हुन् । 

राष्ट्रिय च्याम्पियन एरिकाले सन्‌ २०२३ मा‌ भएको १९औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जिताएकी थिइन् । त्यस्तै, सोही वर्ष भएको एसियन च्याम्पियनसिपमा रजत पदक जितेकी हुन् । एसियाली खेलकुदमा रजत पदक जित्ने उनी पहिलो नेपाली हुन् । 

थप चार कांस्य पदक
नेपालले एरिकाको स्वर्ण पदकसहित थप चार कांस्य पदक हासिल गरेको छ । योसँगै अस्ट्रेलिया पुगेका पाँचै खेलाडी पदकसहित स्वदेश फर्किने भएका छन् । पुरुष ६७ केजीमुनिमा सन्तोष श्रेष्ठ तथा महिला ६१ केजीमुनिमा सविना श्रेष्ठ, ५५ केजीमुनिमा पुष्पका लामा र ५० केजीमुनिमा वर्षा बुढामगरले कांस्य पदक प्राप्त गरेका छन् । प्रशिक्षक श्रेष्ठका अनुसार नेपाली टिम केही समय अस्ट्रेलियामै प्रशिक्षक गरेर स्वदेश फर्किनेछ । ‘हामी केही दिन यहीँ प्रशिक्षण गर्नेछौँ । त्यसपछि मात्रै स्वदेश फर्किने कार्यक्रम छ ।’

एसियन च्याम्पियनसिपअघि राम्रो तयारी 
प्रक्षिक्षक श्रेष्ठले एसियन च्याम्पियनसिपअघि राम्रो तयारी भएको जानकारी गराएका छन् । उनले केही साता अस्ट्रेलियामा रहँदा अस्ट्रेलियन टिमसँग अभ्यास गर्ने पनि जानकारी गराए । ‘नेपालले अस्ट्रेलियन टिमसँग तयारी गर्ने योजना बनाएका छौँ । यहाँको टिम निकै बलियो छ । पाँचै खेलाडीले पदक जितेपछि आत्मबल बढेको छ,’ श्रेष्ठले भने, ‘अस्ट्रेलियामा पाँच पदक जितेपछि हामीलाई आगामी मेमा हुने एसियन च्याम्पियनसिपलाई राम्रो गर्न प्रोत्साहन गरेको छ ।’ एसियन च्याम्पियनसिप उज्वेकिस्तानमा हुने तालिका छ । 

See More On

सुझावित समाचार