तलब माग्दै छात्रवृत्ति करारका चिकित्सक स्वास्थ्यकर्मी आन्दोलनमा

आकस्मिक बाहेकका सेवा ठप्प हुँदा मर्कामा सेवाग्राही

बिहिबार, २० चैत, २०८१
डिजिटल संस्करण

सिराहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद प्रादेशिक अस्पतालमा कार्यरत छात्रवृत्ति करारका चिकित्सक स्वास्थ्यकर्मीहरू प्रदेश सरकारसँग तलब माग्दै आन्दोलित भएपछि बिहीबार बिहानदेखि नै आकस्मिकबाहेकका सबै सेवाहरू ठप्प भएका छन् । 

छात्रवृत्ति करारका चिकित्सक र स्वास्थ्यकर्मीको आन्दोलनको कारणले ओपिडीअन्तर्गतका  विभिन्न सेवाहरू बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । करिब एक महिनादेखि भइरहेको रक्तश्राव नरोकिएपछि स्त्री तथा प्रसूतिरोग विशेषज्ञसँग जचाउन आएकी सिराहाको धनगढीमाई १२ की करिब ३० वार्षीया शान्ति महराले चिकित्सकहरूको आन्दोलनको कारणले जचाउन नपाएको गुनासो गरिन् । ‘तलब दिने निकायले वेलामा तलब नदिँदा त्यसको सास्ती हामीजस्ता सेवाग्राहीले भोग्नुपरेको छ,’ उनले भनिन् । 

आन्दोलित चिकित्सक र स्वास्थ्यकर्मीहरूका अनुसार प्रदेश सरकारले दिनुपर्ने मंसिरदेखि फागुनसम्म गरी चार महिनाको तलब नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको हो । ‘पछिल्लो चार महिनाको तलब नपाएसम्म र त्यसपछि हरेक महिनाको तलब त्यही महिनाको मसान्तमा पाउने सुनिश्चितता नभएसम्म अस्पतालका सेवाहरू बन्द गर्न बाध्य भएका हौँ,’ छात्रवृत्ति करारका इन्टरनल मेडिसिन डा. राजेश रञ्जनले भने । 

अस्पतालमा कार्यरत अर्का चिकित्सक स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. मनोजकुमार चौधरीले पछिल्लो चार महिनाको तलबका लागि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गुहार्दा संघीय स्वास्थ्य मन्त्रालयले नै रकम नपठाएको भन्ने र संघले प्रदेश मन्त्रालयलाई पठाइसकेका छौँ भन्दै झुलाइरहेको बताए । 

सुझावित समाचार