पाँच सय हेक्टर क्षेत्रफलमा नियन्त्रित डढेलो

बुधबार, १९ चैत, २०८१
डिजिटल संस्करण

चितवन राष्ट्रिय निकुञ्जले पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा नियन्त्रित डढेलो लगाएको छ। गत फागुन दोस्रो सातादेखि निकुञ्जले घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाइएको बताउँदै निकुञ्जका कर्मचारी, नेपाली सेना, स्थानीयसहितको टोलीले डढेलो लगाएर नियन्त्रणमा लिएका जानकारी दिए । उनका  अनुसार निकुञ्जको पूर्वी क्षेत्रमा दुई सय हेक्टरभन्दा बढी र पश्चिम क्षेत्रमा तीन सय हेक्टरभन्दा बढी क्षेत्रफलमा डढेलो लगाइएको थियो ।

‘घाँसेमैदानमा भएका ज्वलनशील पदार्थमा डढेलो लगाएर नियन्त्रणमा लिएका हौँ,’ सूचना अधिकारी मगरले भने । निकुञ्जमा नेपाली सेना र निकुञ्ज कर्मचारीले डढेलो लगाएका बताउँदै मध्यवर्ती सामुदायिक वनमा उपभोक्ता समितिहरूले निकुञ्जको समन्वयमा नियन्त्रित रूपमा घाँसेमैदान व्यवस्थापनका लागि डढेलो लगाएका उनले जानकारी दिए । 

अहिले नियन्त्रित डढेलो लगाइसकिएको बताउँदै अग्निरेखा व्यवस्थापनको कामलाई तीव्र बनाइएको मगरले जानकारी दिए। उनले भने, ‘निकुञ्जभित्र रहेका अग्निरेखाहरूको व्यवस्थापनको काम भइरहेको छ । सरसफाइ गर्ने, नयाँ अग्निरेखा बनाउनेलगायत काम भइरहेका छन् ।’ पछिल्ला दिनमा अनियन्त्रित डढेलो लगाउन सुरु भएकाले यसलाई रोक्न नेपाली सेना र निकुञ्ज कर्मचारीसहित २० जनाको संयुक्त ‘रेस्पोन्स’ समूह बनाएर काम भइरहेको उनले बताए । 

 निकुञ्ज क्षेत्रमा भन्दा अहिले मध्यवर्ती क्षेत्रमा अनियन्त्रित डढेलो बढी लगाइएको पाइएपछि टिमले ती डढेलो नियन्त्रण गर्दै आइरहेको निकुञ्जका सूचना अधिकारी मगरले बताए । उनका अनुसार निकुञ्जमा १० हजार हेक्टर क्षेत्रफल घाँसेमैदान रहेकामा अहिले तीन सय हेक्टर क्षेत्रफलको घाँसेमैदान व्यवस्थापन गरिएको छ ।

यस निकुञ्जमा गैँडा, बाघ, हात्ती, चित्तललगायत दुर्लभ वन्यजन्तुहरू छन् । यहाँ विश्वभरबाट पर्यटक जंगलसफारीका लागि आउने गर्दछन् । नियन्त्रित डढेलो लगाएर निकुञ्ज सफा भएपछि निकुञ्जभित्रको बाटोबाट टाढाटाढासम्म वन्यजन्तु देख्न सकिन्छ । डढेलोपछिको मौसममा पर्यटकहरूले सहजै वन्यजन्तु देख्ने भएकाले सफारीका लागि रुचाउने निकुञ्ज कार्यालयले जनाएको छ ।

See More On

सुझावित समाचार