आइपिएल–२०२५ : कोलकातामाथि मुम्बईको आठ विकेटको जित

मंगलबार, १८ चैत, २०८१
डिजिटल संस्करण

अश्वनी कुमारले २४ रन खर्चेर चार विकेट लिएपछि मुम्बई इन्डियन्सले सोमबार १८औँ इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकता नाइट राइडर्समाथि आठ विकेटको सानदार जित निकालेको छ । पहिलो ब्याटिङ गरेको कोलकताले १६.२ ओभरमा सबै विकेटको क्षतिमा ११६ रनको मध्यम योगफल बनाएको थियो । प्रत्युत्तरमा मुम्बईले १२.५ ओभरमा दुई विकेट गुमाएर १२१ रन बनाउँदै सानदार जित निकाल्यो । अश्वनी आइपिएलको डेब्यु खेलमै चार विकेट लिने पहिलो भारतीय बलर बनेका छन् । 

यसअघि लगातार दुई खेल गुमाएको मुम्बईले तेस्रो खेलमा महत्वपूर्ण जित हात पार्यो । मुम्बई दुई अंकका साथ छैटौँ स्थानमा उक्लेको छ । तीन खेलमा दुई हार र एक जित निकालेको कोलकाता अंकतालिकाको पुछारमा रह्यो । चालू आइपिएलमा रोयल्स च्यालेन्जर्स बेंग्लोर र दिल्ली क्यापिटल्सले लगातार दुई जित निकालेका छन् । यसबाहेक अन्य सबै टोलीले जित र हारको नतिजा हात पारेका छन् ।

मुम्बईलाई महत्वपूर्ण दुई अंक दिलाउने क्रममा रायन रिकेटनले आक्रामक ब्याटिङ गरेका थिए । उनले ४१ बलमा पाँच छक्का र चार चौकाको सहयोगमा सर्वाधिक ६२ रनको योगदान दिए । सूर्यकुमार यादवले नौ बलमा दुई छक्का र तीन चौका प्रहार गरी २७ रन बनाए । ओपनर रोहित शर्माले १२ बलमा १३ रन जोडे । कोलकाताका लागि रुसेलले २.५ ओभरमा ३५ रन खर्चेर दुई विकेट लिए । 

अश्वनीले घातक बलिङ गरेपछि पहिलो ब्याटिङ गरेको कोलकाताले मुम्बईविरुद्ध कमजोर प्रदर्शन गर्यो । इनिङ्सको १.१ ओभरभित्र कोलकाताले दुई विकेट गुमाउँदा स्कोर बोर्डमा दुई रन मात्र चढाएको थियो । टे«न्ट बाउल्टले सुनील नारिनलाई शून्य रन तथा दीपक चाहरले आक्रामक ओपनर क्विन्टन डी ककलाई एक रनमा पेभेलियन पठाउँदा कोलकाताको कमजोर सुरुवात भयो । कप्तान अजिन्का राहाने र अंक्रिस रघुवंशीले तेस्रो विकेटका लागि २३ रनको साझेदारी गरेका थिए । राहानेले सात बलमा ११ रन बनाए । रघुवंशीले सर्वाधिक २६ रन बनाउन १६ बलमा तीन चौका र एक छक्का प्रहार गरेका थिए ।

राजस्थानका कप्तान रियानले तिरे १९ लाख 
राजस्थान रोयल्सका कप्तान रियान परागले ढिलो बलिङ गरेका कारण १९ लाख रुपैयाँ जरिवाना तिरेका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत आइतबार चेन्नई सुपर किंग्ससँगको खेलमा रियानको कप्तानीमा रहेको राजस्थानले निर्धारित समयमा २० ओभर पूरा गर्न सकेन । बिसिसिआइले स्लो ओभर बलिङ गरेको राजस्थानका कप्तानलाई कारबाहीस्वरूप जरिवाना तिराएको हो । राजस्थानले चालू आइपिएलमा पहिलो जित निकाल्ने क्रममा चेन्नईलाई ६ रनले हराएको थियो । यसैगरी, बिसिसिआईले मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई पनि १९ लाख रुपैयाँ जरिवाना गराएको छ । 

सुझावित समाचार