वरिष्ठ पत्रकार तथा राजनीतिज्ञ कमल कोइरालाको निधन

कोइराला परिवारमा एक मात्र कम्युनिस्ट नेताका रूपमा परिचित थिए पूर्वप्रधानमन्त्री मातृकाप्रसादका छोरा कमल

आइतबार, १७ चैत, २०८१
डिजिटल संस्करण

वरिष्ठ पत्रकार, अगुवा राजनीतिक व्यक्तित्व र कूटनीतिज्ञ कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ । गत मंगलबार लडेर पक्षघात भएपछि सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएका कोइरालाको आइतबार निधन भएको हो । उपचारकै क्रममा आइतबार राति ९ बजे निधन भएको उनकी छोरी ऋचा कोइरालाले जनाएकी छिन् ।

उनी पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा हुन् । कोइराला परिवारका एक मात्र कम्युनिस्ट नेताका रूपमा परिचित कमल पार्टी कामसँगै पत्रकारितामा पनि समानान्तर रूपमै सक्रिय थिए । उनले ०४७ पछि एमालेनिकटको दृष्टि साप्ताहिकको प्रधानसम्पादकको जिम्मेवारी सम्हालेका थिए । त्यस्तै, ०६१ पछि रोडम्याप साप्ताहिकको प्रधानसम्पादक भएका उनी पछिल्लो समय साँघु साप्ताहिक र जनआस्थासहितका अखबारमा स्तम्भकारका रूपमा सक्रिय लेखनमा थिए । बुधबार साप्ताहिकमा पनि उनी लामो समय स्तम्भकार रहे । 

उनी ०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ ६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । कोइराला करिब तीन वर्ष दक्षिण कोरियाका लागि नेपाली राजदूत पनि भएका थिए । उनी एमालेका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसल्लाहकारसमेत हुन् । पार्टी विभाजनपछि भने उनी नेकपा एसमा आबद्ध थिए । 

सुझावित समाचार