आइपिएल–२०२५ : मुम्बईको लगातार दोस्रो हार

आइतबार, १६ चैत, २०८१
डिजिटल संस्करण

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा लगातार दोस्रो हार व्यहोरेको छ । शनिबार नरेन्द्र मोदी रंगशालामा मुम्बई गुजरात टाइटन्ससँग ३६ रनले पराजित भयो । जितसँगै गुजरातले महत्वपूर्ण  दुई अंक हासिल गरेको छ । टस हारेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ९७ रनको लक्ष्य प्रस्तुत गर्यो । प्रत्युत्तरमा मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदा मात्र १६० रन बनाएको हो । 

मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग चार विकेटले पराजित भएको थियो । यता, गुजरात पनि पहिलो खेलमा पन्जाब किंग्ससँग ११ रनले पराजित भएको थियो । प्रतियोगितामा लगातार दुई जित निकाल्दै रोयल च्यालेन्जर्स हैदराबाद शीर्ष स्थानमा रहेको छ । अब, आइतबार दुई खेल हुनेछन् । पहिलो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद तथा दोस्रो खेलमा आज स्थान रोयल्स र चेन्नई सुपर किंग्स प्रतिस्पर्धा गर्ने तालिका छ । 

 अर्धशतकबाट चुके सूर्यकुमार
मुम्बईको इनिङ्समा सूर्यकुमार यादव अर्धशतक बनाउनबाट चुकेका छन् । २८ बलमा तीन चौका र ४ छक्का प्रहार गरेको सूर्यकुमारले ४८ रन प्रहार गरेका हुन् । छक्का हान्ने दाउमा उनी प्रसिद्ध कृष्णको बलमा शुभमन गिलबाट क्याच आउट भएका हुन् । तिलक बर्माले ३९ रनको योगदान गरेका थिए । यसअघि मुम्बईको ओपनिङ जोडी रोहित शर्मा र रायन रिकेल्टन चल्नै सकेनन् । 

रोहित आठ र रायन ६ रन बनाएर आउट भए । चौथो बलमै रोहितलाई गुमाएपछि मुम्बई धर्मराएको थियो । तेस्रो विकेटका लागि सूर्यकुमार र तिलकले ४२ बलमा ६२ रनको साझेदारी गरेका हुन् । आशा गरिएका कप्तान हार्दिक पाण्ड्या पनि ११ रन बनाएर आउट भएपछि मुम्बईको सम्भावना निकै कमजोर बनेको थियो । नमन धिर र माइकल साटनरले समान १८ रनको योगदान गरेका थिए । बलिङतर्फ मोहम्मद सिराज र प्रसिद्ध कृष्णले समान दुई विकेट हात पारेका थिए । कागिसो रवडा र साई किशोरको नाममा समान एक विकेट रह्यो । 

 सुदर्शनको अर्धशतक 
पहिलो इनिङ्समा गुजरातका लागि ओपनरद्वय साई सुदर्शन र कप्तान शुभमन गिलले पहिलो विकेटका लागि ७८ रनको बलियो साझेदारी गरेका थिए । यद्यपि, गुजरातको शीर्षक्रम चले पनि मध्यक्रम र तल्लोक्रमका ब्याटरले बिर्सनालायक प्रदर्शन गरेका थिए । सुदर्शनले ४१ बलमा चार चौका र २ छक्कासहित सर्वाधिक ६३ रन बनाएका हुन् । गिलले २७ बलमा ३८ तथा जस बटलरले २४ बलमा ३९ रन बनाएका हुन् । सेरफन रुथेरफोर्डले १८ रनको योगदान गरेका थिए । मुम्बईका हार्दिक पाण्ड्याले सर्वाधिक दुई विकेट लिए । पहिलो खेलमा भने उनी उपलब्ध हुन पाएनन् । 

सुझावित समाचार