प्रधानमन्त्री कप क्रिकेट : पुलिसलाई चौथोपटक उपाधि

आइतबार, १६ चैत, २०८१
डिजिटल संस्करण

नेपाल पुलिस क्लबले चौथोपटक प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थनगर मैदानमा पुलिसले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हरायो । पुलिस लगातार दोस्रोपटक च्याम्पियन भएको हो । पहिलो ब्याटिङ गरेको आर्मीले ४३ ओभरमा अलआउट हुँदा मात्र १५५ रनको लक्ष्य प्रस्तुत गर्‍यो । प्रत्युत्तरमा पुलिसले २५.२ ओभरमा चार विकेट गुमाउँदै जित निकालेको हो । पुलिसले यसअघि सन् २०१७ मा आर्मीसँगै उपाधि बाढेको थियो भने सन् २०१९ र सन् २०२४ मा तेस्रोपटक उपाधि उचालेको थियो । 

उपाधि भिडन्तमा पुलिसका बलर करण केसी र सागर ढकालले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट हात पारेका थिए । त्यस्तै, पुलिसकै ओपनर कुशल भुर्तेलले ६१ रन बनाए । आर्मीका लागि बसिर अहमदले ८६ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । सर्वाधिक ४१ विकेट लिएका पुलिसका ललित राजवंशी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिएका छन् । त्यस्तै, सर्वाधिक रन बनाउनेमा गण्डकीका अर्जुन कुमाल रहे । सर्वाेत्कृष्ट ब्याटर घोषित उनले ९ इनिङ्समा सर्वाधिक ३७४ रन बनाएका हुन् । 

कुशलको चौथो अर्धशतक 
राष्ट्रिय टोलीका ओपनरसमेत रहेका कुशल भुर्तेलले पिएम कपमा चौथो अर्धशतक बनाएपछि पुलिसले फाइनलमा पनि सहज जित निकाल्यो । लिग चरणको अन्तिम खेलमा आर्मीसँग चार विकेटले पराजित पुलिसले त्यसको बदलासमेत फाइनलमा लियो । फाइनलमा ओपनर कुशलले ७० बलमा सर्वाधिक ६१ रन बनाएका हुन् । ७ चौका र तीन छक्का प्रहार गरेका भुर्तेललाई साहब आलमले विवेक यादवबाट क्याच आउट गराएका थिए । २८ वर्षीय भुर्तेलले यसअघि लुम्बिनीविरुद्ध ५९, कोशीविरुद्ध ६५ र बागमतीविरुद्ध ८८ रनको योगदान गरेका थिए । समग्रमा पिएम कपमा १० इनिङ्समा उनले ३२५ रन बनाएका थिए । 

अर्का ओपनर अमित श्रेष्ठले ३९ बलमा दुई चौका र तीन छक्कासहित ३९ रन बनाए । दिलीपनाथ ३१ रनमा अविजित रहे । पहिलो विकेटका लागि अमित र भुर्तेलबिच ७७ रनको साझेदारी भएको थियो । आर्मीका साहवले सर्वाधिक तीन विकेट लिएका थिए । नरेन साउदको नाममा एक विकेट रह्यो । 

आर्मीको शीर्ष क्रम चल्नै सकेन 
फाइनलमा आर्मीका बसिर अहमदले ८६ रन बनाए पनि शीर्षक्रम चल्न नसक्दा टोली निकै कमजोर रह्यो । टोलीले ९.१ ओभरमा पाँच विकेट गुमाउँदा मात्र २५ रन जोडेको थियो । चौथो बलमै आर्मीले तीन रन जोड्दा सन्तोष कार्कीलाई गुमायो । तृतराज दास आउट हुँदा आर्मीले १० रन मात्रै जोडेको थियो । तृतराजले ७, इमरान शेखले ५, नरेन साउदले ७ रन बनाउँदा भिम सार्की गोल्डेन डक आउट भएका हुन् । कप्तान विनोद भण्डारीले २९ रन जोड्दै टिमलाई उकास्ने प्रयास गरे । सातौ नम्बर क्रिजमा आएका बसिरले १०४ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ८६ रन बनाएर आर्मीलाई ठुलो स्कोरतर्फ लम्काएका थिए । सोमपाल कार्मीले ७ तथा विवेक यादवले ११ रन जोड्दा कुशल मल्ल र साहव आलम डकआउट भएका हुन् ।

 करण र सागरको तीन विकेट
फाइनलमा पुलिसका लागि करण केसी र सागर ढकालले समान तीन विकेट हात पारे । करणले ७ ओभरमा एक मेडनसहित ३० रन खर्चिएका थिए । सागरले ८ ओभरमा २९ रन दिए । यसबाहेक दीपेन्द्रसिंहण् ऐरीले २ तथा ललित र गुल्शन झाले समान एक विकेट लिएका हुन् ।

 ललित सर्वाेत्कृष्ट खेलाडी
प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशी सर्वाेत्कृष्ट चुनिएका छन् । उनले लिगमा १० इनिङ्स खेल्दा सर्वाधिक ४१ विकेट हात पारे । दोस्रो स्थानमा रहेको साहब आलमले ३१ विकेट मात्रै लिएका थिए । दाङको लमही, भैरहवाको सिद्धार्थनगर र रुपन्देहीको एक्स्ट्राटेकमा आयोजना भएको प्रधानमन्त्री कपमा ब्याटर चल्न नसक्दा बलर हाबी भएका थिए । बलरमैत्री पिचलाई ललितले सदुपयोग गरेका थिए । 

यता, ब्याटिङतर्फ भने राष्ट्रिय टिमका अनुभवी ब्याटरहरू लयमा आउनै सकेनन् । सर्वाधिक रन बनाउनेमा नेपाल यु–१९ टिमका अर्जुन कुमाल रहे । उनी नै उत्कृष्ट ब्याटर हुँदै एक थान मोटरसाइकल प्राप्त गर्न सफल भए । उनले ९ इनिङ्समा सर्वाधिक ३७४ रन बनाएका थिए । ३६५ रन बनाएका आर्मीका तृतराज दास उदीयमान खेलाडी घोषित भएका छन् । उनी एक शतकसमेत बनाउन सफल भएका थिए । 


 

सुझावित समाचार