काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पठाएको पत्र निर्मलनिवासले नबुझी फिर्ता पठाइदिएको छ । शुक्रबार राजावादी समूहले महानगरपालिकाको सडकमा फोहोर र आगजानी गरेको भन्दै महानगरले सात लाख ९३ हजार रुपैयाँको जरिवानाको पत्र काटेको थियो ।
त्यही पत्र लिएर आइतबार महानगरको नगर प्रहरी र राजस्व विभागको टोली निर्मलनिवास पुगेको थियो । तर, टोलीलाई निर्मलनिवासको गेटबाट फर्काइएको छ । जरिवानाको पत्र र बिल पुर्याउन गएको टोलीलाई गेटबाटै फर्काइएको महानगरका मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए ।
उनका अनुसार जरिवाना शुल्कको पत्र असम्बन्धित भएकाले स्वीकार नहुने भन्दै फर्काइएको थियो । अब उक्त पत्र हुलाकबाट पठाइने स्वकीय सचिव शाहले जानकारी दिए । महानगरले आजै हुलाकमार्फत उक्त पत्र निर्मलनिवासको नाममा पठाउनेछ ।