घुस बार्गेनिङको अडियो बाहिरिएपछि सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले शनिबार मुख्यमन्त्री कमलबहादुर शाहलाई राजीनामा बुझाएका हुन् । दिगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि पास गर्न उनले काठ व्यवसायीसँग घुस मागेको अडियोमा सुनिन्छ । मन्त्री चौधरीले कार्यविधि पारित गर्न २५ देखि ३० चाहिने र पाँचजति मुख्यमन्त्रीलाई पनि दिनुपर्ने बताएको अडियोमा सुनिन्छ । तर, यो लाख वा करोड कति भनेर खुलाइएको छैन । चौधरीसँग कर्मचारी र काठ व्यवसायीले कुराकानी गरेको सुनिन्छ । अडियो १२ मिनेटको छ ।
लक्ष्मणकिशोर चौधरी भन्छन्-भर्खरै मन्त्री भएको समयमा केही व्यक्ति भेट्न आएका थिए । अडियोमा भएका कुराकानी चिया गफ भइरहेको समयका हुन् । त्यो समयमा मलाई केही पनि जानकारी थिएन । मेरो इच्छा नहुँदानहुँदै उनीहरूले कुराकानी गरेका हुन् ।
चौधरीले अडियो गत भदौ महिनातिरको भएको र केही काठ व्यवसायी र पार्टीका व्यक्ति छलफलमा रहेको खुलाएका छन् । भर्खरै मन्त्री बनेका वेला सचिवालयका कर्मचारीको आग्रहमा आफ्नै निवासमा उनीहरूसँग छलफल गरेको, तर नियत गलत नभएको उनले दाबी गरे । ‘म भर्खरै मन्त्री भएको समयमा केही व्यक्ति भेट्न आएका थिए,’ उनले भने, ‘अडियोमा भएका कुराकानी चिया गफ भइरहेको समयका हुन् । त्यो समयमा मलाई केही पनि जानकारी थिएन । मेरो इच्छा नहुँदानहुँदै उनीहरूले कुराकानी गरेका हुन् ।’ चौधरीले मुख्यमन्त्रीलाई मिलाउने नभई सोध्नुपर्ने कुरा गरेको दाबी गरे । एक व्यक्तिले २५–३० ठुलो रकम हो भनेको अडियोमा सुनिन्छ । तर, मन्त्री चौधरी भन्छन्, ‘के ठुलो हुनु मुख्यमन्त्री, पार्टीका सबैलाई मिलाउनुपर्छ, राजनीति गर्न कहाँ सजिलो छ र ? काठमाडौं गएर रेशम (नागरिक उन्मुक्तिका संरक्षक) नभए रञ्जिता(अध्यक्ष)लाई भेटेर कुरा मिलाउँछु ।’
मन्त्री चौधरीले कार्यविधि अहिलेसम्म पारित नभएको बताए । अडियोमा सार्वजनिक भएको विषयमा आफूले कुनै लेनदेन नगरेको, तर वनसम्बन्धी अनुभव नभएका कारण छलफलमा मात्र गरेको दाबी उनको छ । नाउपाले पार्टीभित्रको आन्तरिक गुटबन्दी कारण आफूलाई फसाउन खोजिएको उनले दाबी गरे । आफूमाथि आरोप लागेकाले अनुसन्धानमा सहयोग पुगोस् भनेरै पदबाट राजीनामा दिएको उनले बताए । चौधरीले आफूमाथि छानबिन गर्न माग गर्दै दोषी देखिए कारबाही भोग्न तयार रहेको बताए । मुख्यमन्त्री शाहले राजीनामा दिन निर्देशन दिएपछि चौधरीले मार्ग प्रशस्त गरेको स्रोतले बतायो । ‘म निर्दोष छु, दोषी भए सजाय भोग्न तयार छु,’ चौधरीले भने । सुदूरपश्चिममा कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी छन् ।