राजावादीहरूको आन्दोलन र त्यसमा देखिएको अराजकतालाई कसरी मूल्यांकन गर्नुभएको छ ?
त्यो कुनै आन्दोलन थिएन । उत्तेजनापूर्ण प्रदर्शनमात्र थियो । निर्मल निवासभित्र बुनिएको सुनियोजित षड्यन्त्रको प्रकटित रूप हो त्यो उग्र, अनियन्त्रित र हिंस्रक प्रदर्शन । निर्दोष दुईजना युवा निर्मल निवासको षड्यन्त्रको सिकार बनेका छन् । कोतपर्वदेखि अनेक पर्व र घटनाका नाममा एकअर्कालाई जुधाएर निर्दोष भाइभारदारको हत्या गर्नु या गराउनु दरबारको विशेषता नै हो । अहिले पनि निर्मल निवासले जसलाई राजसंस्था पुनर्स्थापनाका लागि हुने आन्दोलनको कमान्डर बनायो, त्यसैबाट पनि यो आन्दोलन अराजक र रक्तपातपूर्ण हुने अनुमान सबैले गरिसकेकै अवस्था थियो ।
के पहिलो दिनको आन्दोलनपछि राजावादीहरू रक्षात्मक स्थितिमा पुगेका हुन् ?
पहिलो दिनको प्रदर्शनपछि राजावादीहरू एकदम रक्षात्मक स्थितिमा पुगेका छन् । आफैँले घोषणा गरेको प्रदर्शनको स्वामित्व या अभिभावकत्व लिन कोही पनि तयार नदेखिनुले पनि यसलाई पुष्टि गरेको छ । देशले दुईदुईपटकसम्म राजा बनाउँदा पनि राम्रो शासक बन्न नसकेका ज्ञानेन्द्रले जनतामाझ बचेखुचेको थोरै सद्भाव पनि पहिलो दिनको प्रदर्शनसँगै गुमाएका छन् ।
सडक आन्दोलनबाट राजतन्त्र पुनस्र्थापित हुन सक्ने सम्भावना कति छ ?
यस्तो सडक प्रदर्शनबाट नेपालमा राजतन्त्र पुनस्र्थापित हुन सक्ने कुनै सम्भावना देखिन्न । विगतदेखि नै पटकपटक मूर्खता देखाउँदै आएका ज्ञानेन्द्रले यसपटक फेरि आफ्नो महामूर्खता प्रदर्शन गरेका छन् । जनता पहिलेजस्ता छैनन् । उनीहरू धेरै अघि बढिसकेका छन् । के सही र के गलत भन्ने विश्लेषण गर्न समर्थ छन् । तर, यसो भन्दै गर्दा दलहरू आफ्ना कमीकमजोरीबाट भाग्न मिल्दैन । उनीहरूले आफूलाई सच्याउनुको विकल्प छैन । तिनले आफ्ना कमीकमजोरीलाई कुनै पनि आवरणमा छोप्न पाउँदैनन् ।