कुलमान : एक साझा विम्ब

शुक्रबार, १४ चैत, २०८१
डिजिटल संस्करण

लोकतान्त्रिक शक्तिले साझा विम्ब बनाएका सामान्य व्यक्तिलाई खेद्नु लोकतन्त्रकै लागि हानिकारक मात्र नभई आत्मघाती कदम पनि हो

झन्डै दुईतिहाइको शक्तिशाली सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएपछि नेपाली समाज शान्त देखिन्न । कुलमान घिसिङको कर्तुत के हो ? किन शक्तिशाली सरकार एउटा कर्मचारीविरुद्ध यतिविधि सक्रिय बन्नुपर्यो ? केही महिनापछि आफैँ सेवानिवृत्त भई घर जाँदै गरेका एक कर्मचारीलाई मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरीकन यसरी गलहत्याउनैपर्ने कारण के थियो ? कुलमानलाई मन्त्रिपरिषद् र मन्त्रीले बारम्बार स्पष्टीकरण सोधे पनि यी प्रश्नको चित्तबुझ्दो जवाफ सरकारले अहिलेसम्म जनमासलाई दिन सकेको देखिन्न । 

बर्खास्तीपछि कुलमान घिसिङले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै उनी सर्वोच्च अदालत गुहार्न गएका छन् । कुलमानले नेपाल सरकार, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र विद्युत् प्राधिकरणलाई समेत विपक्षी बनाएर रिट निवेदन दिएका छन् । रिटमा उनले सरकारको निर्णय बदर गरी आफूलाई पुनस्र्थापना गर्न माग गरेका छन् । सर्वोच्च अदालत प्रशासनले तुरुन्तै रिट निवेदनमाथि पेसी तोकेको छ । सडक, सदन र समाज जताततै कुलमान बर्खास्तीविरुद्ध विरोधको आगो उर्लिरहेको छ । 

कुलमान कसको मान्छे ? : नेपालमा कुनै पनि व्यक्ति अलिकता चर्चाको खुड्किलो चढ्नेबित्तिकै कुन दल वा गुटनिकट हुन् भन्ने लेखाजोखा खुब चल्ने गर्छ । त्यसैका आधारमा तिनलाई देवत्वकरण वा दानवीकरण गर्ने गरिन्छ । कुलमानका सन्दर्भमा पनि यो लागू नहुने कुरै छैन । यद्यपि मेरो विचारमा दलीय, गुटीय, साम्प्रदायिक घेराभन्दा धेरै पर पुगेर स्थापित भइसकेका व्यक्तित्व हुन्, कुलमान । लोडसेडिङबाट मुलुकलाई मुक्त गरेर ‘माले’, ‘मन्डले’, ‘मसाले’ सामन्तदेखि सबाल्टर्न जनमानससम्म सबैको सास्ती दूर गर्न दिनरात खटिएका व्यक्ति कुनै लघुताभाषी भासमा भासिने कुरो पनि भएन । 

कुलमान घिसिङसँग मेरो गोरु बेचेको साइनो पनि छैन । तैपनि, मलाई कुलमानको तोजोबध गर्ने काण्डले किन छुन्छ ? मलाई मात्रै होइन, हजारौँ, लाखौँलाई किन यसरी छुन्छ ? जात, धर्म, सम्प्रदाय, आस्था, वैचारिकीभन्दा पर पुगेर कोही एकजना व्यक्तिको पक्ष वा कुलमानको विपक्षमा देखिएको सरकारविरुद्ध किन सडकमा मानिस निस्किन्छन्, पटक–पटक ? यस विषम घडीमा मसँग मात्र होइन, आममानिससँग पनि प्रश्नैप्रश्न छन् । सरकार चलाउनेहरू प्रश्न नगर्ने ‘क्लोन’जस्ता भुत्ते कार्यकर्ता नै किन चाहन्छन् ? 

धेरै मानिसको सपना विपनामा एक दशकदेखि कुलमान किन उपस्थित छन् ? चियापसल, चोक, यत्रतत्र कुलमानकै कुराकानी, तर्कवितर्कमा आमजनमानस जोस्सिरहेका देखिन्छन् । बिहान सबेरै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको कक्षाभित्र पस्छु । कुलमान मसँगै विश्वविद्यालयको कक्षाभित्र पस्छन् । मलाई विश्व साहित्य, महादेशीय दर्शन, प्राज्ञिक लेखनीबारे अध्यापन गराउनु छ । प्रसंग, सन्दर्भमा फुत्त कुलमान घुसिदिन्छन् । हाम्रा कुलपतिलाई कुलमान मन परेका छैनन् । एन्टोनियो ग्राम्सी, अरुन्धती रोय, भीमराव अम्बेडकरजस्ता हस्तीबारे पढाइरहने प्राध्यापकलाई कुलमानबारेको प्रसंग जोड्दा पनि मनमा डर किन पैदा हुन्छ ? प्राध्यापक नै चिसो अनुहार बोकेर किन मौन बस्छन् ? बहसदेखि तर्किएर किन बौद्धिक जमात लुसुक्क कुना पस्छन् ? के नेपालमा पनि ‘डेमोक्रेटिक डिक्टेटरसिप’ हाबी हुँदै गइरहेको हो ? विचारविहीन भिडको माझमा कतै म पनि एक जिउँदो लासमा परिणत त भइसकेको छैन ? जो भ्रष्टहरूसँग उठबस गर्छन्, कमाउँछन् अनि रमाउँछन् । 

यस्तै तर्कनामा हराइरहेको हुन्छु, साइकल हाँक्दा पनि । हामी हजारौँ लाखौँ छौँ, साइकल समुदाय पनि । वेलावेला विशाल साइकल र्याली चलाउँछौँ । तर, कुलमानजस्ता कर्मशील कर्मचारीको तेजोवधविरुद्ध एउटा साइकल र्यालीको आयोजना गर्ने हामीसँग हुती हुँदैन । कठिन विमर्शमा सिर्जनात्मक किसिमले सहभागी हुनुपर्छ । आलोचनात्मक चेतना विकास गर्नुपर्छ । हामी दिन–प्रतिदिन विद्यार्थीलाई प्रश्न गर्न सिकाउँछौँ । हामी प्राध्यापक आफैँले चाहिँ कत्तिको प्रश्न गर्ने गरेका छौँ ? विश्वविद्यालयका विद्यार्थीसँग बहसको थालनी गर्न प्रसंगवश केही प्रश्न गर्छु : समृद्ध नेपालका बाधक कुलमानजस्ता कर्मचारी नै हुन् त ? के कुलमान एउटा कर्मचारी मात्रै हो या विशेष व्यक्तित्व ? कुलमानको बर्खास्तीको अन्तर्य के होला ? उनको बर्खास्तीमा को दुःखी अनि को हर्षित देखिन्छन् ? बिचौलिया को हुन् ? बिचौलियाको चलखेल कसरी खुट्याउन सकिएला ? प्राज्ञिक संसारमा न्यायाधीशजसरी बोल्नुहुन्न, भन्छन् । केवल प्रश्न फालिदिन्छु । बहस उर्लन्छ विद्यार्थीबिच ।

जलविद्युत् ऊर्जा इतिहासमा आधारित बन्दीपुरदेखि बन्दीपुरसम्म अनुसन्धान किताब विमोचन गर्ने चटारोमा थिएँ । बटौली बजारमा विद्युतीकरण, तिनाउदेखि झिमरुक, चिलिमे, खिम्तीलगायत अनेकौँ जलविद्युत् परियोजना घुमेर साइकल हाँक्दै हिँड्ने अगुवा ऊर्जा विज्ञ अड हफटनका चेला बलराम प्रधानको जीवनी अध्ययन गर्दा नेपालको जलविद्युत् राजनीतिको अन्तर्य बटुलेको थिएँ । मेरो मुख्य पात्रको ‘हार्ट फेल’ भएर मृत्यु भएको थियो । उनका दुवै छोरालाई नेपालको जलविद्युत् उद्योगमा नलाग्न उनले अर्ति दिएका थिए । 

यो २०७४ सालतिरको कुरा हो । लोडसेडिङको जञ्जाल चिर्दै कुलमान हाइहाई भइरहेका वेलामा साइकल हाँक्दै रत्नपार्कस्थित विद्युत् कार्यालय पुगेर घन्टौँ कुलमानलाई कुर्थें । उनलाई काममै व्यस्त देख्थेँ, सास फेर्नेसम्म फुर्सद थिएन उनलाई । ढोका अलिकता खोलेर चियाएर भित्र हेर्थें । उनी बैठकमा रातोपिरो भएर बोलिरहेका देख्थेँ । बल्लतल्ल उनलाई किताबको पाण्डुलिपि दिँदै विमोचनमा प्रमुख अतिथि बन्न अनुरोध गरेँ । कार्यक्रम नेपाल पर्यटन बोर्डमा तय गरिएको थियो, उनकै अफिससँगै । पाण्डुलिपि सुमसुम्याउँदै उनी थकथकाए । मैले सोधेँ, के भयो कुलमान सर ? कुलमानले भने, ‘मेरा गुरुहरूबारे लेखिएको किताब मज्जाले पढेर बोल्न मन छ, तर यो ३०० पृष्ठको किताब पढ्न थाल्दा देशमा फेरि लोडसेडिङ हुन सक्छ, मलाई काम गर्न दिनुस् ल !’ 

म हाँस्दै पाण्डुलिपि लिएर फरक्क कीर्तिपुर फर्केको थिएँ । मलाई कुलमानको प्रतिक्रियाप्रति कुनै गुनासो थिएन । एमसिसीको पक्ष र विपक्षमा विवाद चर्किएर देश रणमैदानझैँ भएको वेलामा पनि उनलाई बहस गर्न निम्तो दिएको थिएँ । त्यसवेलामा पनि उनी काममै व्यस्त देखिए । उनलाई कति कर गर्दा पनि बहसमा जोड्न सकिनँ । यस्ता व्यक्तिमाथि अहिले पनि सरकारै लाग्यो । यस्ता कर्मशील कर्मचारी बर्खास्तीमा परेका छन् । सर्वोच्च अदालतमा रिट निवेदन हालेर पुनर्वहालीका लागि कुलमान लड्दै छन् । उनका अघिपछि अनगिन्ती पक्ष–विपक्षमा उभिएका छन् । 

साझा विम्ब बनिरहेका कुलमान : कुनै पनि व्यक्तिको देवत्वकरण वा दानवीकरण सही कर्म हुँदै होइन । सन् १८८५ मै फ्रेडरिक नित्सेले ईश्वरको मृत्युको घोषणा गरेका थिए । आज आएर यो वा त्यो बहानामा धर्मसापेक्ष राजसंस्था स्थापनाको अभियान मिति गुज्रिएको ओखतीसिवाय केही होइन । विचार नै विकास हो । प्रतिगामी विचार विष हो । धर्मनिरपेक्षता र सहअस्तित्व नै समृद्ध समाजको सत्व हो । विश्वको कुनै पनि कुनाको अन्याय आफ्नै अघिको अन्याय हो । 

कुलमानको विगत कस्तो थियो ? उनको भविष्य कस्तो रहला ? यसै भन्न सकिन्न । वर्तमानमा भने कुलमान व्यक्तिबाट एउटा साझा विम्ब बनिसकेका छन् । कतिले उनलाई ‘ब्रान्ड’का रूपमा प्रयोग वा दुरुपयोग पनि गर्लान् । लाखौँ कर्मचारीका लागि मात्र नभई देशकै लागि कुलमानको क्रेज लज्जाको विषय होइन । सरकारका लागि त अझ यो गर्वको विषय बन्नुपर्ने हो । दुनियाँलाई हाम्रो लोडसेडिङमुक्त नेपालको कथा भन्नुपर्ने हो । कुनै एउटा सामान्य व्यक्ति या एक कर्मचारीले साझा विम्ब बन्न सक्ने क्षमता प्रस्तुत गर्छन् भने यो त सरकारका लागि सबैभन्दा सजाउनलायक उपलब्धिपूर्ण कथा हो । लोकतन्त्र स्थापित गर्ने आधारशिला यही त हो । लोकतान्त्रिक शक्तिले साझा विम्ब बनेका सामान्य व्यक्तिलाई खेद्नु लोकतन्त्रकै लागि हानिकारक मात्र नभई आत्मघाती कदम नभए यो के हो, सरकार ?  

विद्रोही व्यक्तित्व थिए, रूपचन्द्र विष्ट (रुदाने) । थाहा आन्दोलनका अगुवा रुदानेको एउटा नारा छ : सयौँ मण्डले एक्लाएक्लै एक्लो रुदाने हुलका हुल । उनको उक्त नारा निकै विडम्बनापूर्ण विम्बसहित सार्थक भएझैँ लाग्छ, कुलमानका सन्दर्भमा पनि । यत्रो विशाल लोकतान्त्रिक शक्तिका पछाडि भन्दा एउटा कुलमानका पछाडि हजारौँ मानिस किन हिँड्दै छन् ? उपलब्धिलाई चिहानमुनि पुर्याउन पतालै भासिने गरी कुलमानजस्ता कर्मचारीविरुद्ध सरकार र उसका संयत्र लागे पनि कुलमानजस्ता व्यक्ति साझा विम्ब बनेर बाँच्नेछन् । कुनै एउटा टुसा भाँच्दैमा अधिनायकवादी सत्ताले पारस्परिक प्रणाली सिध्याउन सक्दैन । वसन्तमा पुनः टुसा उम्म्रन्छन्, हुर्कन्छन् ।  

सुझावित समाचार