अर्मान्ड बेडुमको ह्याट्रिकसँगै चर्च ब्वाइज युनाइटेड क्लब २३औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुटबलको देवीनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले मच्छिन्द्र फुटबल क्लबलाई ४–१ ले पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो । चर्च ब्वाइजको जितमा कप्तान अबायोमी फाकुल्नेले एक गोल थपे । मच्छिन्द्रका एलेक्स विलियम्सले एक गोल फर्काए ।
अर्मान्डले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका हुन् । उनले डिफेन्डर प्रवेश कटुवालको क्रसमा डिबक्सभित्र हेडिङ गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । अर्मान्डले दोस्रो गोल पेनाल्टीमा गरेका हुन् । मच्छिन्द्रका कप्तान करिम ओमोलाजाले अर्मान्डलाई नै डिबक्समा लडाएका थिए । रेफ्रीले चर्च ब्वाइजलाई पेनाल्टी प्रहार गर्न दिए । अर्मान्डले सहजै पेनाल्टीमा गोल गर्दा चर्च ब्वाइज २–० ले अघि बढ्यो ।
उनले ४४औँ मिनेटमा ह्याट्रिक पूरा गरे । राज भुसालले उपलब्ध गराएको पासमा अर्मान्डले मच्छिन्द्रका गोलरक्षक टोपे रानामगरलाई बिट गर्दै गोल गरे । चालू प्रतियोगितामा यो दोस्रो ह्याट्रिक हो । यसअघि संकटा क्लबका सिर्जनराज गौतमले जर्जियन फुटबल क्लब कालिम्पोङविरुद्ध पहिलो ह्याट्रिक गरेका थिए ।
खेलको ६०औँ मिनेटमा फाकुल्नेले गोल गर्दै चर्च ब्वाइजलाई ४–० को बलियो स्थितिमा राखे । राजको कर्नरमा उनले भली गोल गरेका हुन् । मच्छिन्द्रले खेलको ८७औँ मिनेटमा ४–१ का लागि गोल फर्कायो । एलेक्सले एकल प्रयासमा चर्च ब्वाइजका डिफेन्डर बिकु राई, चेतन चौधरी र गोलरक्षक विवश चौधरीलाई बिट गर्दै गोल गरेका हुन् ।
यसअघि दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइजले टाइब्रेकरमा नेपाल पुलिस क्लबलाई ४–३ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो । मच्छिन्द्रले एडोर्न गडवाल स्पोर्टिङ क्लब, देहरादुनमाथि १–० कठिन जित निकाल्दै चर्च ब्वाइजसँगको सेमिफाइनल पक्का गरेको थियो । अब चर्च ब्वाइजले उपाधि भिडन्तमा एपिएफलाई चुनौती प्रस्तुत गर्नेछ । एपिएफले संकटा क्लबलाई १–० ले हराउँदै यसअघि नै फाइनलको यात्रा तय गरिसकेको छ । २३औँ संस्करणको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पाउनेछन् ।