मिचेल मार्स र निकोलास पुरनको आक्रामक ब्याटिङको सहयोगमा लखनउ जायन्टले बिहीबार इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदरबादमाथि पाँच विकेटको जित निकालेको छ । पहिलो ब्याटिङ गरेको हैदराबादले २० ओभरमा नौ विकेट गुमाएर १९० रन बनाएको थियो । प्रत्युत्तरमा लखनउले १६.१ ओभरमा पाँच विकेटको क्षतिमा १९३ रन जोड्यो । लखनउले दुई खेलमा पहिलो जित हात पारेको हो । हैदराबादले दुई खेलमा एक जित र हार सामना गरेको छ ।
लखनउको जितमा ओपनर मार्सले ३१ बलमा सात चौका र दुई छक्का प्रहार गरी ५२ रन बनाए । पुरनले २६ बलमा समान ६ चौका र छक्का प्रहार गरी ७० रनको योगदान दिएका थिए । दुवैले दोस्रो विकेटका लागि ११६ रनको साझेदारी गरे । अब्दुल सामदले आठ बलमा समान दुई चौका र छक्का प्रहार गरी २२ रन जोडे ।
यसअघि पहिलो ब्याटिङ गरेको हैदराबादले ओपनर टेभिस हेड र मध्यक्रमका ब्याट्सम्यानको उत्कृष्ट साथ पाएको थियो । सुरुवात कमजोर भए पनि हैदराबादले रनरेट उकासेको थियो । ओपनर हेडले २८ बलमा पाँच चौका र तीन छक्का प्रहार गरी सर्वाधिक ४७ रनको योगदान दिएका थिए । हैदराबादले इनिङ्सको २.१ ओभरमा अभिषेक शर्मा र २.२ ओभरमा इसन किसनको विकेट गुमाएको थियो । किसन गोल्डेन डक भएका थिए । त्यसपछि नीतीशकुमार रेडी र हेडबिच तेस्रो विकेटका लागि ६१ रनको साझेदारी भएको थियो । नीतीशले २८ बलमा ३२ रन जोडे ।
अंकित बर्माले हेन्रिक क्लासनसँग चौथो विकेटका लागि ३४ रन जोडे । हेन्रिक आउट हुँदा हैदराबाद ११०–४ को स्थितिमा थियो । उनले १७ बलमा दुई चौका र एक छक्का प्रहार गरी २५ रन जोडेका थिए । अंकितले १३ बलमा पाँच छक्का प्रहार गरी ३६ रनको योगदान दिए । कप्तान प्याट कमिन्सले चार बलमा तीन छक्काको सहयोगमा १८ रन र हर्सल पटेलले ११ बलमा १२ रनको योगदान दिएका थिए । बलिङमा लखनउका लागि शार्दूल ठाकुरले ३४ रन खर्चेर चार विकेट हात पारे । अभेस खान, दिगभेस राठी, रवि विश्नोई र पिन्स यादवले समान एक विकेट हात पारेका थिए ।