सरकारको कुशासन र व्यवस्थाको रक्षाका निम्ति शुक्रबार राजधानीमा बृहत् जनप्रदर्शन गर्न लागेको समाजवादी मोर्चाले १२ बजेपछि मात्र जुलसु सुरु गर्ने भएको छ । ११ बजेसम्म एसइईको परीक्षा रहेकाले बिद्यार्थीलाई असर नपर्ने गरी मोर्चाले जनप्रदर्शन गर्न लागेको हो ।
यसअघि ११ बजेदेखि जुलुस सुरु गर्ने तयारी थियो । परीक्षालाई ध्यानमा राखी जुलुसको समय सारिएको कार्यक्रम व्यवस्थापन सचिवालयले जनाएको छ ।
उत्यकाका विभिन्न ठाउँबाट जनप्रदर्शनसहित प्रदर्शनीमार्ग प्रवेश गर्ने मुख्य सडकमा ‘टी’ आकारमा सभा गर्ने मोर्चाको तयारी छ। रत्नपार्क, भद्रकाली र भृकुटीमण्डपतर्फको सडकमा सहभागी उतार्न लागिएको छ।
सभाअघिको जनप्रदर्शनका लागि मुख्य तीन रुट निर्धारण गरिएको छ । जनप्रदर्शनलाई व्यवस्थित र भव्य बनाउन रुट निर्धारण गरिएको मोर्चाले बताएको छ ।
पहिलो रुट कोटेश्वर–नयाँ बानेश्वर–माइतीघर–भद्रकाली–भृकुटीमण्डपमा पुगेर भद्रकालीतर्फ मुख्यसडकमा रहने छ । त्यस्तै दोस्रो रुट कुपन्डोल–त्रिपुरेश्वर–सुन्धारा–शान्ति बाटिका हुँदै भृकुटीमण्डप पुग्ने छ र रत्नपार्कतर्फ मुख्य सडकमा रहने छ । तेस्रो रुट सोह्रखुट्टे–लैनचौर–नागपोखरी–पुतलीसडक–भृकुटीमण्डप तोकिएको छ ।
त्यस्तै, राजवादीहरूले पनि शुक्रबार नै काठमाडौंमा प्रदर्शन गर्दैछन्।