स्ववियु निर्वाचन : ठाकुरराम क्याम्पसको सभापतिमा नेविसंघका बागी उम्मेदवार विजयी

बिहिबार, १३ चैत, २०८१
डिजिटल संस्करण

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघका विद्रोही उम्मेदवार राजकुमार यादव विजयी भएका छन्।

नेविसंघले टिकट नदिएपछि उनले विद्रोह गर्दै बागी उम्मेदवारी दिएर निर्वाचनमा होमिएका थिए। उनी शेखर कोइराला समूहका मानिन्छन्। निर्वाचनको अन्तिम मत परिणामअनुसार यादवले एक हजार ११५ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेविसंघका  विकास मण्डल धानुकले ६५३ मत पाएकाे निर्वाचन समितिले जनाएकाे छ। समाजवादी विद्यार्थी युनियनका उम्मेदवार हरिकिशोर यादवले ५६२, सुधीर पटेल समूहका कमलेशकुमार यादवले ४५० र अनेरास्ववियुका पवन यादवले ३८६ मत पाएका छन्। सभापति पदमा १४ जना प्रतिस्पर्धामा थिए।

निर्वाचन समितिका अनुसार सचिवमा यादव प्यानलकै मन्दिरा चौधरी ६७२ मतका साथ विजयी भएकी छिन्। उनका निकटतम प्रतिस्पर्धी समाजवादी विद्यार्थी युनियनका दीपक पटेलले ५९९ र नेविसंघका रोहित सिंहले ५४३ मत ल्याए।

यस्तै, कोषाध्यक्षमा यादव प्यानलकै अंकित पटेल ८२२ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेविसंघका दीपक पटेलले ६९० मत ल्याए।

१६ वर्षपछि ठाकुरराम क्याम्पसमा चैत ५ मा भएको निर्वाचनमा कुल १० हजार ७२९ मतदातामध्ये चार हजार २९९ मत खसेको थियो।

चैत ५ मा भएको निर्वाचनको मतगणना चैत ६ गतेदेखि सुरु भए पनि एउटा मतपेटिकाको सिल नम्बर फरक परेपछि गणना रोकिएको थियो। बुधबार अपराह्नदेखि पुनः मतगणना सुरु गरिएको थियो।

सुझावित समाचार