कांग्रेस कास्की सभापति बरालले चन्दा उठाएर हिनामिना गरेको विद्यार्थी नेताको आरोप

सात दिनभित्र कारबाही नगरे आन्दोलन गर्ने चेतावनी

बिहिबार, १३ चैत, २०८१
डिजिटल संस्करण

हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयलाई लिएर कास्कीमा नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरुबिचको विवाद छताछुल्ल भएको छ।

संघमा प्रतिनिधित्व गर्ने कास्कीका ११ जना केन्द्रीय सदस्यले बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै पार्टी कास्की जिल्ला सभापति किशोरदत्त बराललाई कांग्रेस बिक्री गरेकाे तथा निर्वाचनको नाममा चन्दा उठाएर आर्थिक अपचलन गरेको आरोप लगाएका छन्।

नेविसंघका  केन्द्रीय सदस्यहरु राजेन्द्र बराल, नसिब गुरुङ, अन्जान थापा, संस्कार कोइराला, विक्रम आदित्य सिंह गिरी, महादेव गिरी, राजिव बाँस्तोला, कविराज पहारी, यामकृष्ण पौडेल, सुजी मगर र गंगा गिरीले पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानालाई सम्बोधन गदै सभापति बराललाई कारबाही गर्न पत्र लेखेका छन्। पत्रको बोधार्थ अनुशासन समिति, नेपाली कांग्रेस कास्की, नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति र नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई दिइएको छ।

पोखरा– १६ लामाचौरस्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा नेविसंघ केन्द्रीय समितिको तर्फबाट केन्द्रीय सदस्यद्वय राजेन्द्र बराल र संस्कार कोइराला खटिएका थिए। केन्द्रीय समितिले सम्पूर्ण अधिकार इकाइ समितिलाई दिई उम्मेदवार टुंगो लगाउन निर्देशन दिएकोमा पार्टी जिल्ला सभापति बरालको निर्देशनमा केन्द्रीय सदस्य रेजिना खड्काले सचिव पदका आधिकारिक उम्मेदवार प्रशान्त उपाध्यायको मनोनयन पत्र च्यातेको आरोप लगाइएको छ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सचिवको आधिकारिक उम्मेदवार उपाध्याय नै हो भनी क्याम्पसमा औपचारिक जानकारी गराए पनि जिल्ला सभापति बरालले एमाले, माओवादी केन्द्र र क्याम्पस प्रशासनसँग मिलेर संघको अस्तित्व र समग्र संगठनलाई नै लिलाम गरेको आरोप लगाइएको छ।

त्यसपछि केन्द्रीय समितिको तर्फबाट सचिवसहितको नामावली प्रकाशनको माग गरी क्याम्पसमा तालाबन्दी भएकोमा क्याम्पस इकाई सभापति सौगात पण्डितलगायतले ताला फुटाएका थिए। पछि क्याम्पसको मूल गेटमा रिले अनसन बसेकाहरुमाथि समेत पार्टी जिल्ला सभापति बरालको निर्देशनमा प्रहरी प्रशासन लगाएर लखेट्ने र दोहोरो भिडन्त गराउनेका काम गरेको पत्रमा उल्लेख छ।

सभापति बरालले कम्प्युनिष्टहरुसँग मिली चोर बाटो प्रयोग गरेर विद्यार्थीहरुलाई मतदान गर्न लगाएको आरोपसमेत उनीहरुको छ।

क्रियाशिल विद्यार्थी माझ लोकप्रिय नेतालाई गुटबन्दीका आधारमा बन्द कोठाभित्रबाट हतोत्साहित बनाउँदै बरालले आर्थिक अपचलन गरेको तथा सामाजिक सञ्जालमार्फत् खुलेआम स्वतन्त्र उम्मेदवारलाई आफ्नो इच्छाले मताधिकार प्रयोग गर्न अपिल गरेको भन्दै विद्यार्थी नेताहरुले उनई सात दिनभित्र कारबाही नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

सुझावित समाचार