सिनामंगलबाट लागुऔषधसहित दुईजना सशस्त्र प्रहरीको नियन्त्रणमा

बिहिबार, १४ चैत, २०८१
डिजिटल संस्करण

सशस्त्र प्रहरी बलले आज बिहीबार दिउँसो काठमाडौं महानगरपालिका– ९ सिनामंगलबाट करिब सात किलोग्राम पोलाइन्ड नामक लागुऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएकाहरू खोटाङको लामिडाँडा– ७ घर भई काठमाडौं– ३१ गौशाला बस्ने २१ वर्षीय सागर श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका– ५ खोलेसिमल घर भई काठमाडौं– ३१ सिनामंगल बस्ने ४५ वर्षीया लक्ष्मी परियार रहेका सशस्त्र प्रहरीले जनाएको छ।

लागुऔषध किनबेच गरिरहेको भन्ने सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा उनीहरू पक्राउ परेका हुन्। सशस्त्रले उनीहरूले प्रयोग गरिरहेको दुई थान मोटरसाइकल, ६ थान मोबाइल र केही नगदसमेत बरामद गरेको छ।

पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

सशस्त्र प्रहरीले यसअघि गत १ फागुनमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित नयाँबस्ती र २२ भदौमा काठमाडौं– ३२ कोटेश्वरबाट पाँच–पाँच किलोग्राम सोही लागुऔषधसहित तीन युवकलाई नियन्त्रणमा लिएको थियो।

सुझावित समाचार