सामाजिकशास्त्र वार्षिक संगोष्ठी– २०८२ का लागि प्रज्ञा–प्रतिष्ठानले माग्याे शोधमूलक लेखरचना

बिहिबार, १३ चैत, २०८१
डिजिटल संस्करण

नेपाल प्रज्ञा–प्रतिष्ठानअन्तर्गत सामाजिकशास्त्र विभागले अघिल्लो वर्षमा जस्तै यस वर्ष पनि सामाजिकशास्त्र वार्षिक संगोष्ठी– २०८२ आयोजना गर्ने भएको छ। ‘नेपाली समाजका विविधताहरू’ विषयमा  ०८२ जेठ १६ र १७ गते हुने संगोष्ठीका लागि विभागले शोधमूलक लेखरचना माग गरेको छ।

लेखकहरूले नेपाली समाजका विविधताहरू भन्ने मुख्य विषयभित्र रही समावादउन्मुख अर्थतन्त्र, पर्यावरणको वैज्ञानिक विश्लेषण, सामाजिक विभेदले पारेको प्रभाव, भाषिक सांस्कृतिक पक्ष, वैज्ञानिक समाजवाद र संस्कृति, द्वन्द्व र शान्ति निर्माण प्रक्रियामा समाज, उत्पीडनले पारेका प्रभावहरू, समाजशास्त्रीय अध्ययनका नयाँ आयामहरूलगायत विभिन्न ११ विधामा शाेधमूलक लेखरचना पठाउन सक्नेछन्। 

यस्ता शोधमूलक लेख, रचना तीन हजारदेखि चार हजार पाँच सय शब्दभित्र लेख्नुपर्ने विभागले जनाएको छ। संगोष्ठीमा भाग लिन चाहनेले इमेलमार्फत आउँदो वैशाख १५ गतेसम्म लेखरचना पठाइसक्नुपर्नेछ । यसरी पठाइएको लेखरचना स्वीकृत भए–नभएकोबारे ०८२ वैशाख २५ गतेभित्र सूचनामार्फत जानकारी दिइने सामाजिकशास्त्र विभाग प्रमुख प्राज्ञ डा. कौशिला रिसालले जानकारी दिइन्।  लेखरचना नेपाली भाषामा पठाउनुपर्नेछ भने यसअघि अन्यत्र प्रकाशन–प्रसारण नभएको हुनुपर्नेछ ।

नेपाली समाजका विभिन्न विशेषता र विविधताहरूमा आधारित रहेर भएका शोधमूलक कार्यलाई प्रोत्साहन गर्न र सामाजिक विज्ञानको क्षेत्रमा थप ज्ञान निर्माण गर्न संगोष्ठी आयोजना गर्न लागिएको प्राज्ञ डा. रिसालको भनाइ छ।  सामाजिकशास्त्रका क्षेत्रमा अध्ययन, अनुसन्धानमूलक कार्य गरिरहेका तथा यस क्षेत्रमा थप अध्ययन गर्न चाहनेका लागि संगोष्ठीले प्रोत्साहन पुग्ने विश्वास उनले व्यक्त गरिन्। 

सुझावित समाचार