फिफा विश्वकप २०२६ : अर्जेन्टिना र इरान छनोट

बिहिबार, १३ चैत, २०८१
डिजिटल संस्करण

सन् २०२६ को फिफा विश्वकप फुटबल प्रतियोगितामा दक्षिण अमेरिकाबाट साबिक विजेता अर्जेन्टिना र एसियाबाट इरानले स्थान पक्का गरेका छन् । अहिलेसम्म विश्वकपमा सात राष्ट्रले स्थान सुरक्षित गरेका छन् । आयोजकका रूपमा अमेरिका, क्यानडा र मेक्सिको छनोट भइसकेका छन् । छनोट चरणबाट ओसियना क्षेत्रमा न्युजिल्यान्ड र एसियाबाट जापानले स्थान पक्का गरेका छन् । आगामी फिफा विश्वकपमा पहिलोपटक ४८ देशले भाग लिँदै छन् । विश्वकपमा एसियाबाट आठ, अफ्रिकाबाट नौ, उत्तर अमेरिकाबाट ६, दक्षिण अमेरिकाबाट ६, ओसियानाबाट एक र युरोपबाट सर्वाधिक १६ देशले भाग लिनेछन् । 

युरोपबाहेक अरू क्षेत्रका लागि प्लेअफ कोटा फिफाले छुट्याइएको छ । अन्तरमहादेशीय प्लेअफबाट छनोट हुने प्रावधान रहेको छ । सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ । प्रत्येक समूहमा चार टोली हुनेछन् । शीर्ष दुई र उत्कृष्ट तेस्रो स्थानमा रहने आठ गरी ३२ टोलीले दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । सन् २०२६ को फिफा विश्वकप तीन राष्ट्रका १६ सहरमा हुनेछ ।

ब्राजिलमाथि अर्जेन्टिनाको सानदार जित
दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गत बुधबार बिहान भएको प्रतिस्पर्धामा अर्जेन्टिनाले ब्राजिलमाथि ४–१ को सानदार जित निकालेको छ । नियमित कप्तान लियोनल मेसीविना मैदानमा उत्रेको अर्जेन्टिनाका लागि अल्भारेज, फर्नान्डेज, म्याक अलिस्टर र सिमोनेले समान एक गोल गरेका थिए । ब्राजिलका लागि माथुस कुन्हाले एक गोल फर्काए । अर्जेन्टिना छनोट चरणको चार खेलअघि नै विश्वकपमा पुगेको हो । अर्जेन्टिनाले १४ खेलबाट सर्वाधिक ३१ अंक बटुलेको छ । दोस्रो स्थानमा रहेको इक्वेडरले समान खेलबाट २३ अंक जोडेको छ । अर्जेन्टिनाले दोस्रो स्थानसँगको टोलीविरुद्ध स्पष्ट ८ अंकको अग्रता बनाएको छ । ब्राजिल २१ अंकका साथ चौथो स्थानमा छ । दुईपटकको विजेता उरुग्वे २१ अंकसहित तेस्रो स्थानमा छ । पाँचौँ स्थानमा रहेको पाराग्वेले पनि २१ अंक जोडेको छ । 

अर्जेन्टिनासँग हार सामना गरेपछि ब्राजिलियन कप्तान माक्विन्होले समर्थकसँग माफी मागेका छन् । ‘यो नतिजा सबै ब्राजिलियनका लागि नराम्रो हो, हारको जिम्मेवारी लिँदै समर्थकसँग माफी माग्छु,’ उनले भने, ‘अर्कोपटक उत्कृष्ट नतिजा निकाल्ने प्रयास गछौँ ।’ अर्जेन्टिनाले ब्राजिलविरुद्ध खेल्नुअघि नै विश्वकपमा स्थान बनाएको थियो । अर्को खेलमा बोलिभिया र उरुग्वेबिच बराबरी भएपछि अर्जेन्टिना मैदानमा प्रवेश गर्नुअघि नै विश्वकपमा पुगेको थियो । 

इरान लगातार चौथोपटक विश्वकपमा 
इरानले लगातार चौथोपटक विश्वकपमा स्थान बनाएको छ । एसियाली छनोटअन्तर्गत उज्वेकिस्तानसँग २–२ को बराबरी निकाली इरानले विश्वकपमा स्थान पक्का ग¥यो । उज्वेकिस्तानले दुई गोलको अग्रता रक्षा गर्न सकेन । मेहेदी तारेमीले दुई गोल गरेपछि इरानले उज्वेकिस्तानलाई बराबरीमा रोक्यो । समग्रमा इरान सातौँपटक विश्वकप खेल्दै छ । यसअघि इरानले सन् १९७८, १९९८ र २००६ मा विश्वकप खेलेको थियो । २०१० मा दक्षिण अफ्रिकामा भएको संस्करणमा इरान छनोट भएन । त्यसपछिका संस्करणमा इरानले प्रतिनिधित्व गरिरहेको छ ।

सुझावित समाचार