संयुक्त राज्य अमेरिकाले बेइजिङको कृत्रिम बौद्धिकता (एआई) र उन्नत गणना क्षमतालाई कमजोर बनाउने उद्देश्यले मंगलबार दर्जनौँ व्यावसायिक संस्थालाई व्यापार कालोसूचीमा राखेको छ ।
यस कदमले चीन, संयुक्त अरब इमिरेट्स (युएई) र इरानलगायत देशका ८० संस्थालाई प्रभावित पार्ने बताइएको छ । अमेरिकाको वाणिज्य मन्त्रालयले ‘अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीतिविपरीतका गतिविधि’ रोक्न चिनियाँ उद्योगमाथि प्रतिबन्ध लगाएको बताएको छ ।
अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुट्निकले प्रतिबन्धपछि प्रतिक्रिया दिने क्रममा अमेरिकी प्रविधि प्रयोग गरेर प्रतिद्वन्द्वीलाई तिनको सेना बलियो बनाउन र अमेरिकी जीवनलाई खतरामा पार्न अनुमति नदिने बताए ।
इरानको रक्षा उद्योग र ड्रोन कार्यक्रमका लागि अमेरिकी सामान खरिद गर्न खोज्ने इरान र चीनका दुई संस्थालाई पनि सूचीमा समावेश गरिएको वाणिज्य मन्त्रालयले जनाएको छ । बेइजिङले आफ्ना कम्पनीलाई कालोसूचीमा राख्ने निर्णयको निन्दा गर्दै वासिंटनले व्यापार र प्रविधिलाई ‘आधिपत्यवादको विशिष्ट कार्य’मा ‘हतियार’ बनाएको आरोप लगाएको छ ।