अमेरिकन नागरिकलाई अपहरण गरी तीन लाख युरो फिरौती माग्ने व्यक्ति पक्राउ

बुधबार, १२ चैत, २०८१
डिजिटल संस्करण

मुस्ताङ जिल्लास्थित मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी एक अमेरिकन महिलालाई अपहरण एवं शरीर बन्धक बनाएर फिरौती मागेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका–४ बस्ने २७ वर्षीया सरिता लामा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए। अपहरण एवं शरीर बन्धक बनाएर हेटाैँडा पुर्याइएकी पीडित अमेरिकी नागरिकलाई प्रहरीले सकुशल उद्धार गर्न सफल भएको ओलियाले जानकारी दिए।

अमेरिकन राहदानीबाहक ७० वर्षीया ती महिला साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमणका  लागि नेपाल आई पोखरा महानगरपालिका–६, लेकसाइडस्थित एक होटेलमा बस्दै आएकी थिइन्। सो क्रममा ११ चैतमा अपहरणमा परी शरीर बन्धक बनाई तीन लाख युरो फिरौती मागेको भन्ने नेपालस्थित अमेरिकी राजदूतावासबाट सूचना आएपछि खटिएको प्रहरी टोलीले लामालाई मकवानपुर जिल्लाबाट पक्राउ गरेको प्रमुख ओलियाले जानकारी दिए। 

अमेरिकी राजदूतावासबाट आएको सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्कीले प्रारम्भिक अनुसन्धानपछि केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९, नेवारपानीबाट प्रहरीले लामालाई पक्राउ गरेको हो।

लामालाई कास्की जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसुरमा बुधबार सात दिन म्याद थप गरी प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।
 

सुझावित समाचार