प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरूले संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
सभामुख देवराज घिमिरेले सभाको आजको बैठक सुरु गर्नेबित्तिकै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाए । सभामुख घिमिरेले माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतलाई बोल्ने समय दिएका थिए । सांसद बस्नेतले परिवर्तित परिस्थितिप्रति सरकार बेखबर भएर स्वार्थ समूह एवं बिचौलियाको हितमा लागिपरेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाएको बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय फिर्ता हुनुपर्ने बताउँदै यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको माग छ । सांसद बस्नेतले आफ्नो भनाइ सक्नेबित्तिकै प्रतिपक्षी सांसदहरूले पुनः उठेर विरोध गरेका थिए
संसद्को कार्यसूचीअनुसार आजको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यक्रम छ ।
त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।