ठेक्का आह्वानको सूचना प्रकाशित गर्दा साढे ६ लाख भ्रष्टाचार

बुधबार, १२ चैत, २०८१
डिजिटल संस्करण

गाउँपालिकाको ठेक्का आह्वानको सूचना पत्रिकामा प्रकाशित गर्दा साढे ६ लाख भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । धनुषाको बटेश्वर गाउँपालिकाका वडाहरूमा स्वास्थ्य चौकी भवन र डिप बोरिङ तथा डिप बोरिङ हाउस निर्माणका क्रममा बोलपत्र आह्वान तथा स्वीकृति गर्दा त्यसका लागि पत्रिकामा छापिएको सूचना तथा भुक्तानीमा भ्रष्टाचार भएको अख्तियारको दाबी छ । 

गाउँपालिकाले आव ०७६/७७ मा विभिन्न वडामा स्वास्थ्य केन्द्र निर्माण, डिप बोरिङ र डिप बोरिङ हाउस निर्माणका लागि ठेक्का लगाएको थियो । ठेक्काको बोलपत्र आह्वानको सूचना र बोलपत्र स्वीकृतको सूचना सार्वजनिक खरिद ऐनबमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।

तर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी र लेखा हेर्ने छैटौँ तहका अधिकृत सुमनकुमार पुरीले जनकपुर टुडे मिडिया ग्रुप प्रालिका अध्यक्ष बृजकुमार यादवसँग मिलेमतो गरे ।

बोलपत्र आह्वानको सूचना र बोलपत्र स्वीकृतिको सूचना लुकाइछिपाई, सार्वजनिक रूपमा सूचना प्रकाशन नगरी गाउँपालिकाको कार्यालयमा ठेक्काको अभिलेख राख्ने प्रयोजनका लागि मात्र पत्रिका निकालियो । 

मिलेमतोमा २४ माघ ०७६ मा जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिकामा बोलपत्र आह्वानको सूचना प्रकाशित गरियो । तर, पत्रिका एक प्रति मात्र निकालियो । त्यस्तै, ३ चैत ०७६ मा पनि यस्तै गरी एक प्रति मात्र पत्रिका निकालेर त्यसमा बोलपत्र स्वीकृतको सूचना प्रकाशित गरियो ।

त्यही एक प्रति पत्रिका गाउँपालिकामा पेस गरेर भुटा विवरणसहितको पत्रिकाको आधारमा भुक्तानी दाबी गरिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । बोलपत्र आह्वान र स्वीकृतिको सूचना छापेपछि जनकपुर टुडे मिडिया ग्रुप प्रालिको बिलबाट ६ लाख ४४ हजार एक सय रुपैयाँ दाबी गरिएको थियो । पत्रिकाको बिलबाट माग गरेबमोजिम गाउँपालिकाले भुक्तानी दियो ।

सुझावित समाचार