भक्तपुरमा दुई जनाको हत्या घटनामा तीन जना पक्राउ परेका छन् । मध्यपुरथिमि नगरपालिका–६ बस्ने ३२ वर्षीय लक्ष्मण खड्काको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई सतापछि दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही लालबन्दी नगरपालिका–९ घर भएका ३९ वर्षीय यादव पौडेल र सिन्धुली तीनपाटन गाउँपालिका–३ चकमके घर भएका २४ वर्षीय अनिश तामाङ रहेका छन् ।
मध्यपुरथिमि नगरपालिका–२ सानोठिमी मगरगाउँ जाने सडकको छेउमा गत २७ फागुन बिहान अचेत अवस्थामा फेला परेका लक्ष्मणको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको थियो । अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न पौडेल र तामाङलाई पक्राउ गरेको हो । आपसी विवाद हुँदा कुटपिट गरी उनीहरूले खड्काको हत्या गरेको भक्तपुर परिसरका डिएसपी ढुन्डीराज नेउपानेले बताए ।
उनीहरूउपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट पाँच दिन म्याद थप गरेर अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै,भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडे निलबाराहीस्थित पिकनिक स्पटमा आइतबार एकको हत्या भएको छ । खोटाङको केपिलासगढी गाँउपालिका वडा नम्बर २ घर भई हाल बोडे बस्ने ६६ वर्षिय ओम प्रकाश राईको हत्या भएको हो । हत्या आरोपमा रोल्पा परिवर्तन गाँउपालिका वडा नम्बर ६ घर भएका ५७ को हिमाल बुढामगरलाई प्रहरीले पक्राउ गरेको छ ।
राई कवाडीको सामान टिप्ने काम गर्ने गर्दथे । विवाद हुँदा हिमाले उनलाई ढुंगाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । आइतबार शव भेटिएकोमा सुक्ष्म अनुसन्धान गरी सोमबार मगरलाई पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ ।