स्ववियु निर्वाचनका लागि सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थी संघसंगठन दर्ता

मंगलबार, १२ चैत, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि १० विद्यार्थी संघसंगठनहरूले संगठन दर्ता गराएका छन्। २७ चैत्रमा हुने स्ववियु निर्वाचनका लागि सुपविको केन्द्रीय क्याम्पसमा १० विद्यार्थी संघसंगठनहरूले संगठन दर्ता गराएका हुन्। निर्वाचन संयोजक कर्णदेव भट्टले ७ विद्यार्थी संघसंगठनसहित ३ स्वतन्त्र विद्यार्थी समूहले संगठन दर्ता गरेको बताए। 

संयोजक भट्टका अनुसार नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादीनिकट अनेरास्ववियू, अखिल (समाजवादी), बहुमतनिकट क्रान्तिकारी, प्रजातान्त्रिक विद्यार्थी संगठनसहित दीपेन्द्र भट्ट नेतृत्वको संयुक्त विद्यार्थी समूह, पुष्करराज पन्त नेतृत्वको स्वतन्त्र विद्यार्थी समूह र वीरेन्द्र सिंह नेतृत्वको स्वतन्त्र विद्यार्थी आवाजले संगठन दर्ता गराएका छन्। संघसंगठन दर्ता गराएसँगै स्ववियु निर्वाचनमा होमिएको विद्यार्थी संघसंगठनले जनाएका छन्। 

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दलबहादुर धामी (अविरल)ले संगठन दर्ता गरेसँगै आवश्यक चुनावी प्रक्रियामा अघि बढेको बताए। यसअघि जिल्लामा २ क्याम्पस जितेको क्रान्तिकारीले सुपको केन्द्रीयसहित अन्य आंगिक क्याम्पसमा पनि संगठन दर्ता गराएको छ। 

नेविसंघका जिल्ला अध्यक्ष नरेश पण्डितले पनि संगठन दर्तासँगै चुनावको तयारीमा जुटेको बताए। यसअघि ५ क्याम्पस जितेको नेविसंघले सुपको केन्द्रीयसहित अन्य आंगिक क्याम्पसमा संगठन दर्ता गराएको बताए।

सुपवि स्थापनाको झन्डै डेढ दशकमा पहिलोपटक केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको छ। सुपविको केन्द्रीयसहित १५आंगिक क्याम्पसमा निर्वाचन हुने जनाएको छ। 
 

सुझावित समाचार