निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा सुरुङमार्गको काम १० दिनदेखि ठप्प
संघीय राजधानी काठमाडौंमै निर्माणाधीन ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग परियोजनाको निर्माण कार्य पुनः रोकिएको छ । सुरुङ परियोजनाका पूर्वी क्षेत्रका स्थानीय काठमाडौंको चन्द्रागिरि नगरपालिकाका स्थानीयले थप विभिन्न माग राख्दै ३ चैतदेखि निर्माण कार्य अवरोध गरेका हुन् ।
अहिले परियोजनास्थलमा कुनै पनि काम नभएको परियोजनाका इन्जिनियर रमेशकुमार कोइरालाले बताए । पूर्ण रूपमा काम रोकिएको मंगलबार १० दिन पुग्दै छ । ‘स्थानीयले १ चैतमा काममा अवरोध गर्ने सूचना दिएका थिए । ३ चैतदेखि काम ठप्पै भएको छ,’ उनले भने, ‘हामी परियोजनास्थलमा कार्यरत कर्मचारीलाई पनि स्थानीयले मुर्दावाद भन्दै हिँडेको अवस्था छ ।’
विभिन्न माग राख्दै स्थानीयले यसअघि पनि पटक–पटक निर्माण कार्य अवरोध गर्दै आएका छन् । त्यसमा अधिकांश माग सरकारले पूरा पनि गरेको छ । अहिले निर्माणको अन्तिम चरणमा आएर नयाँ मागका साथ स्थानीयले पुनः काम अवरोध गरेका हुन् । स्थानीयले सधैँभरि निःशुल्क खानेपानी दिनुपर्ने, स्थानीयलाई रोजगारी दिनुपर्नेलगयातका सातवटा माग राखेका छन् ।
पछिल्लोपटक गत फागुन महिनामा पनि स्थानीयले काम रोकेका थिए । अहिले फेरि चैतको पहिलो सातादेखि उनीहरू काम रोकेका हुन् । काठमाडौंमा निर्माणाधीन परियोजाले धादिङलाई पनि छोएको छ । धादिङपट्टिका स्थानीयले यसमा त्यति अवरोध गरेका छैनन् । तर, काठमाडौंतर्फका स्थानीयले भने पटक–पटक अवरोध गर्दै आएका छन् । अहिले पनि काठमाडौंतर्फकै स्थानीयले काम गर्न नदिएका हुन् । काठमाडौंमै बनिरहेको परियोजनामा पटक–पटक यस्ता समस्या आउँदा सरकार र स्थानीयलाई पनि ठुलो प्रश्न खडा भएको विज्ञहरू बताउँछन् ।
सडक विभागका प्रवक्ता अर्जुनप्रसाद अर्यालले नागढुंगा सुरुङ परियोजनाको काम रोकिएको बताए । ‘नागढुंगा परियोजनाको काम रोकिएको भन्ने खबर आएको छ । स्थानीयसँग वार्ता गरेर समाधान गर्ने प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘यसबारे छलफल भइरहेको छ ।’
यद्यपि, स्थानीयले पटक–पटक अनावश्यक रूपमा माग राख्दै काम अवरोध गर्दा सडक विभागका कर्मचारी पनि रुष्ट बनेका छन् । ‘हामीले यसअघिका अधिकांश माग पूरा गरेका छौँ । अहिले फेरि थप माग लिएर काम अवरोध गरेका छन् । हामी खानेपानी मन्त्रालय वा त्यसअन्तर्गतको निकाय पनि होइन । हामीले खानेपानीको विषयमा निर्णय नै गर्न मिल्दैन । हामीले सरकारसँग प्रस्ताव गर्न सकिएला । तर, सधैँभरि निःशुल्क पानी दिन सरकारले पनि सक्दैन,’ एक अधिकारीले भने, ‘रोजगारीलगायतका विषयमा पुनः विचार गर्न सक्दैन । यो कुरा स्थानीयले बुझ्न आवश्यक छ ।’
परियोजनाको निर्माण कार्य अन्तिम चरणमा थियो । विनाअवरोध काम गर्न सकेमा आगामी दसैँअघि नै सुरुङमार्ग सञ्चालनमा ल्याउने लक्ष्य थियो । तर, अहिले काम अवरोध भएसँगै परियोजनाको निर्माण पनि अन्योलमा परेको छ ।
हालसम्म परियोजनाको भौतिक प्रगति ८६.३६ प्रतिशत पुगिसकेको छ । वित्तीय प्रगति भने ७६.६८ प्रतिशत पुगेको देखाएको छ । नियमित काम गर्न सकेमा दसैँसम्ममा परियोजना सञ्चालनमा आउने दाबी परियोजनाका कर्मचारीहरूको थियो । तर, अहिले यसबारे केही भन्न नसकिने उनीहरू बताउँछन् ।
ठेक्का प्राप्त जापनिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पाेरेसनले डिसेम्बर ०२० (पुस ०७७) देखि सुरुङ खन्न सुरु गरेको थियो । त्यसको चार वर्षमा यतिका काम सम्पन्न भएको छ ।
सामान्य रूपमा निरन्तर काम गर्न सकेमा ०८२ असोजभित्र परियोजना सञ्चालन गर्ने लक्ष्य थियो । ठेक्काको म्याद थप गरेर २५ अक्टोबर ०२५ (८ कात्तिक ०८२) सम्म पुर्याइएको छ । त्यो अवधिमा परियोजना सञ्चालनमा ल्याउने लक्ष्य छ । तर, पटक–पटक हुने अवरोधले समयमै परियोजना बन्नेमा चुनौती देखिएको छ ।
परियोजनामा मुख्यतः मुख्य र रेस्क्यु गरेर दुई सुरुङमार्ग हुनेछन् । पश्चिम धादिङको सिस्नेरीबाट सुरु भएको सुरुङमार्ग काठमाडौं नागढुंगामा निस्कनेछ । २६ सय ८८ मिटरको मुख्य सुरुङमार्ग ३ वैशाख र २५५७ मिटरको रेस्क्यु टनेल भने २२ साउन ०८० मा छिचोलिएको थियो । त्यसपछि मुख्य टनेल र क्रस प्यासेजमा कंक्रिट लाइनिङ (भित्ता र सिलिङको ढलान–कंक्रिटिङ)को काम सम्पन्न भइसकेको छ । त्यसपछि सडक कंक्रिट गर्न सुरु गरिएको थियो । अहिले परियोजनामा अन्तिम चरणको काम भइरहेको छ ।