प्रधानमन्त्री कप : सुपर ओभरमा गण्डकी विजयी

सुपर ओभरमा गण्डकीले दिएको २३ रन पछ्याएको मधेशले नौ रन मात्र जोड्यो

मंगलबार, ११ चैत, २०८१
डिजिटल संस्करण

गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार मधेशलाई सुपर ओभरमा पराजित गरेको छ । सिद्धार्थनगरमा भएको ३८औँ खेलमा पहिलो ब्याटिङ गरेको मधेशले ५० ओभरमा सात विकेट गुमाएर २४६ रन बनाएको थियो । प्रत्युत्तरमा गण्डकीले ४९.५ ओभरमा सबै विकेट गुमाएर २४६ रन बनाएपछि खेल टाई भयो । 

गण्डकीलाई जितका लागि अन्तिम बलमा दुई रन चाहिएको थियो । मधेशका विशाल पटेलले बलिङ गरेका थिए । ब्याटिङमा गण्डकीका सन्दीप पराजुली क्रिजमा थिए । गण्डकीसँग अन्तिम ओभरमा एक विकेट बाँकी थियो । विशालले वाइड फ्याँक्दा स्कोर बराबरी भइसकेको थियो । तर, जितका लागि आवश्यक एक रन लिने प्रयासमा सन्दीप रनआउट हुँदा गण्डकी अलआउट भएको भयो । यससँगै खेल टाई भएको हो । सुपर ओभरमा गण्डकीले पहिलो ब्याटिङ गर्यो । गण्डकीले एक ओभरमा २२ रन जोड्यो । २३ रनको लक्ष्य पछ्याएको मधेशले केवल नौ रन मात्र बनाउँदा गण्डकीले बाजी मारेको हो । गण्डकीका लागि सुपर ओभरमा अमृत गुरुङले पाँच बलमा तीन चौकाको सहयोगमा १३ रन बनाए । ओपनर सुदीप अर्यालले दुई बलमा एक छक्का प्रहार गरी ६ रन जोडे । मधेशका लागि रूपेश सिंहले ६ रन तथा पवन सर्राफले तीन रन बनाए । 

अर्जुनको शतकीय इनिङ्स
यसअघि नियमित ओभरमा गण्डकीका अर्जुन कुमालले शतकीय योगदान दिएका थिए । प्रधानमन्त्री कपमा उनको यो पहिलो शतक हो । उनले १०६ रन बनाउन १४० बलमा १० चौका र १ छक्का प्रहार गरेका थिए । चालू जारी प्रतियोगितामा यो चौथो शतक हो । यसअघि सुदूरपश्चिमका किरण ठगुन्नाले दुई शतक प्रहार गरिसकेका छन् । त्रिभुवन आर्मी क्लबका तृतराज दासले शतकीय इनिङ्स खेलेका छन् । 

गण्डकीको ब्याटिङमा अर्जुनबाहेक अन्य ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् । इनिङ्सका ३.२ ओभर र ४.४ ओभरमा गण्डकीले विकेट गुमाउँदा १२–२ को योगफल खडा गरेको थियो । त्यसपछि अर्जुनलले दिनेश बुढामगरसँग चौथो विकेटका लागि ११० रनको साझेदारी गर्दै टोलीलाई ३०.४ ओभरमा टोलीलाई १२६–४ को स्थितिमा राखे । 

यसैगरी, कप्तान विपिन खत्रीले २३ बलमा समान एक चौका र छक्का प्रहार गरी २६ रन जोडे । सुदीपले नटआउट रहँदै २३ बलमा ३४ रन जोडे । उनले दुई चौका र एक छक्का प्रहार गरे । मधेशले गण्डकीलाई १९ अतिरिक्त रन दिएको थियो । मधेशका विशाल पटेलले चार विकेट लिए । पहिलो ब्याटिङ गरेको मधेशका ओपनर रोहन विकले ९८ बलमा ६ चौका र ३ छक्का प्रहार गरी ६४ रनको योगदान दिए । मधेशको ब्याटिङमा तीन खेलाडीले अर्धशतकीय इनिङ्स खेले । हरिशंकर साहले १०२ बलमा ५१ रन तथा रूपेश सिंहले ३२ बलमा चार चौका र ३ छक्का प्रहार गरी ५१ रन बनाए । 

एपिएफले आर्मीलाई दबाब दिँदै
विभागीय टोली नेपाल एपिएफले नेपाल पुलिस र त्रिभुवन आर्मीलाई शीर्ष दुई स्थानमा दबाब दिएको छ । छैटौँ जितका साथ एपिएफ तेस्रो स्थानमा रह्यो । पुलिस र आर्मीले समान १४ अंक जोडेका छन् । रनरेटमा पुलिस शीर्ष स्थानमा छ । सिद्धार्थनगरमै भएको खेलमा एपिएफले लुम्बिनीलाई सात विकेटले हरायो । पहिलो ब्याटिङ गरेको एपिएफले आठ विकेट गुमाएर २२३ रन जोडेको थियो । प्रत्युत्तरमा एपिएफले ४१.५ ओभरमा तीन विकेटको क्षतिमा २२४ रन बनाएको थियो । अर्को खेलमा बागमतीले कर्णालीमाथि नौ विकेटको जित निकालेको छ । 
 

सुझावित समाचार