घरमाथिको चौरमा खानेपानी झरेपछि लामीचौरवासीले मनाए उत्सव

सोमबार, ११ चैत, २०८१
डिजिटल संस्करण

‘जीवनभर खानेपानीकै लागि दुःख गरियो, कहिले पानी भर्ने वेला छिमेकीसँग झगडा गर्नु पर्‍यो, कहिले घण्टौँ लाइन बसेर गाग्री भर्नुपर्ने । अब त घरमाथि नै पानी तानेर खसालेका छन् ज्यानले सुख पाउँछ कि ? बाग्लुङ नगरपालिका–८ सिगानाकी ७० वर्षीया मैना कार्कीले दुःख सम्झँदै सुखका दिनको अपेक्षा गरिन् । कार्कीसँगै रहेकी गीता विकले पनि उनले जस्तै दुःखका फेहरिस्त लगाइन्। गीताले पनि अब पानी भर्न घण्टौँ लाइन लाग्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिन्।

मैना र गीता मात्र हैनन् बागलुङ नगरपालिका–८ सिगाना लामीचौरका करिब २५० घरधुरीले घरमाथिको चौरमा ड्रिलिङमार्फत पानी निस्केपछि उत्सव नै मनाए। उत्सवका क्रममा विगतमा पानी खोज्न पाएको दुःख उनीहरूको अनुहारमा कतै थिएन। वर्षौँदेखि भोगेको खानेपानीको चरम अभाव अब भोग्नुनपर्ने सुखद् कल्पना मात्रै थियो। 

सधैँको झगडा अब खतम 
४२ वर्षअगाडि निर्माण भएका यहाँका १२ वटा धाराबाट २५० परिवारले पानीको गर्जो टार्दै आएका थिए। ‘धारामा निश्चित समय मात्र पानी छाडिन्थ्यो, गाग्री भर्न लाइन लागेर बस्नुपर्थो, पानी भर्ने बेलामा झगडासमेत हुन्थ्यो,’ विगतका दिन सम्झँदै मैना भनिन्, ‘हाम्रो पालामा त धेरै दुःख भोगियो । छोरानातीलाई सहज हुने भयो । अब सबै घरमा धारा पुग्छन् कि, बिहान २ बजे उठेर धारामा लाइन बस्थ्यौँ अब पर्दैन कि ।’ उनले आफ्नै आँखाले जमिनमुनिबाट पानी तानेर खसालेको देखेपछि खानेपानीको अभाव हुँदैन कि भन्ने विश्वास लागेको छ । ड्रिलिङ प्रविधिमार्फत जमिनमुखीबाट पानी निकालेपछि  लामीचौरमा खानेपानीको समस्या टर्ने भएको छ। 

०४० सालमा तत्कालीन प्रधानपञ्च पदमबहादुर कार्कीको पालामा निर्माण भएको धारा जीर्ण बन्दै गएका छन् । तर तिनै धाराबाट स्थानीयले खानेपानीको जोहो गर्दै आएका थिए । वर्षायाममा खानेपानीको समस्या नभए पनि हिउँद लाग्दा सधैँ समस्या झेल्दै आउनुपरेको स्थानिय चन्दमणि गौतम बताउँछन् । ‘लामिचौरमा धेरै नेता आए, यहाँको समस्या पानी नै थियो । हेरे गए हालसम्म कसैले सकेनन’ गौतमले भने, ‘बाग्लुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ चुनावको बेला पानी ल्याउँछौं भनेर वाचा गर्नुभएको थियो, उहाँले पुरा गर्नुभएको छ, हामीलाई चाहिएको यस्तै जनप्रतिनिधि हो, नगरपालिकाले जमिनमुनीबाट पानी निकाल्दा धेरै खुसी लागेको छ, मेरै पालामा घर–घरमा धारा बन्ने भयो ।’ उनले लामीचौरकै लागि भनेर परेको लिफ्टििङ खानेपानी योजना अलपत्र परेको बताए । 

२९ लाखको लागतमा ड्रिलिङ 
लामीचौरवासी नगरपालिकाको २९ लाखको लागतमा जमिनमुनीबाट पानी निकाल्न सफल भएको छ। लामो समयको मिहिनेतपछि ड्रिलिङ गरि लामिचौरमा पानी निक्लिएको छ । जमिनमुनीबाट पानी निस्किएपछि स्थानीयमा खुसीयाली छाएको छ।

लामिचौरमा जमिनमुनीबाट पानी निकाल्न सकिन्छ भन्ने धेरैलाई लागेको थिएन ।  नगरपालिकाले पहिलो चरणमा वाईण्ड वाटर सोलुशन प्राली काठमाडौंका प्राविधिक खटाएर सर्भेक्षण ग¥यो र यसै क्षेत्रमा २–३ स्थानमा सम्भावना देखियो । त्यस पश्चात पब्लिक च्याइस कन्स्ट्रक्सन प्रालिले ड्रिलिङ थालनी गरेर अन्तत समुन्द्रिक सतहदेखि करिब १६ सय मिटरको उचाइमा जमिनमुनीबाट पानी निकालिएको छ । 

गत १ चैतमा मेसिनले करिब १७० मिटर जमिन छेडेर पानी निकालेको थियो । ९ चैतमा जमिनमा विद्युतीय मोटर दबाएर अहिले पानी निकाल्न सुरु गरेको लामीचौर ड्रिलिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष टिकाराम थापाले जानकारी बताए । 

२५० घरका लागि १२ वटा मात्रै धारा 
गाउँमा धेरै पटक खानेपानी ल्याउनका लागि माग गरे पनि न योजना नै परेको थियो न कतै बाट बजेट व्यवस्थापन गर्न सकिएको थियो । यहाँको समस्यालाई नगरपालिकाले चासो दिएपछि प्रविधिको प्रयोग गरेर जमिनमुनीबाट पानी निकाल्न सफल भएको अध्यक्ष थापा बताउँछन् । नगरपालिकाको २६ लाख र स्थानीय जनसहभागिताबाट तीन लाख जुटाएर २९ लाखमा पानी निकालिएको हो ।

‘लामिचौर क्षेत्र खानेपानीको ठुलो समस्या झलेको थियो, २५० घरका लागि १२ वटा मात्रै धारो छ, अझ धारोमा निकै सानो पानी आउँछ, स्थानीय कुवा र खोलाको फोहोर पानी उभोग गर्न बाध्य थिए,’ थापाले भने, ‘ड्रिलिङ गरेर गाउँमै पानी निकाल्न सकियो, यो पानीलाई घर–घर पुर्‍याउन सके स्थानीयले सुख पाउने थिए, त्यसका लागि नगरपालिकाले आगामी आर्थिक वर्षमा सहयोग गर्नेमा आशावादी छौँ।'

चुनावका वेला गरेका वाचा पूरा
बाग्लुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले अब कोही पनि नागरिकले खानेपानीका लागि घण्टाैं लाइन बस्न नपर्ने बताए । धेरै वर्ष अगाडिदेखि यहाँको खानेपानी समस्या समाधान गर्न खोजे पनि सफल हुन नसकेको बताए । यसपटक ड्रिलिङमार्फत पानी निकाल्न सकेको र आउँदो वर्ष घरघरमा धारा पुर्याउन नगरपालिकाको तर्फबाट श्रोतको खोजी गर्ने बताए । श्रेष्ठले निर्वाचनको समयमा आफूले गरेको वाचा पूरा गरेको र यो नगरका लागि पनि ठुलो उपलब्धि भएको बताए ।

सुझावित समाचार