तारकेश्वरमा सुत्केरी, ज्येष्ठ नागरिक सहारा र मृत्यु संस्कार भत्ता नगरपालिकाले दिने

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण

तारकेश्वर नगरपालिकाको आइतबार बसेको नगरसभाको १६औँ अधिवेशनबाट आउँदो वैशाखदेखि लागू हुने गरी तारकेश्वरका स्थायी बासिन्दाहरूका लागि सुत्केरी, ज्येष्ठ नागरिक सहारा र मृत्यु संस्कार भत्ता नगरपालिकाले दिने घोषणा गरेको नगर प्रमुख कृष्णहरि महर्जनले बताए । 

नगरपालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने नागरिकहरूका लागि यही २०८२ साल वैशाख महिनाबाट लागू हुने गरी कोखदेखि शोक कार्यक्रमअन्तर्गत कोख, ज्येष्ठता सहायता र शोक कार्यक्रमको नीति सार्वजनिक गरेको छ ।

कोख कार्यक्रमअन्तर्गत बच्चा जन्माउनेहरूका लागि एकपटकमा पाँच हजार नगद नगरपालिकाले उपलब्ध गराउने भएको छ । सो कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र स्थायी बसोबास भई जन्म भएका कुनै पनि बालबालिकाहरूको परिवारले उक्त रकम प्राप्त गर्ने नगरपालिकाका कार्यकारी अधिकृत ईश्वरीप्रसाद आचार्यले बताए । त्यस्तै, जेष्ठता नागरिक सहायता कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र स्थायी बसोबास गर्ने ८० वर्षमाथिका वृद्ध–वृद्धालाई सम्मान तथा सहारास्वरूप प्रतिव्यक्ति रु. दुई हजार नगद नगरपालिकाले उपलब्ध गराउने भएको छ ।

शोक कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र स्थायी बसोबास गरेका कुनै पनि परिवारका सदस्यहरूको निधन हुन पुगेमा दाहसंस्कार वा काजकिरिया खर्चबापत प्रतिव्यक्ति १० हजार उपलब्ध गराउने भएको छ ।

सुत्केरी भत्ता र मृत्यु हुने परिवारलाई दाहसंस्कारबापतको खर्च अन्य पालिकाहरूले पनि यसभन्दा अघि दिए पनि ज्येष्ठ नागरिक सहायता खर्च अरूले दिएको देखिँदैन ।

सुझावित समाचार