प्रवासमा पनि नेपाली मिडियाले अग्रणी भूमिका निभाएका छन् : राजदूत यादव

सोमबार, ११ चैत, २०८१
डिजिटल संस्करण

अस्ट्रेलियाका लागि नेपालकी राजदूत चित्रलेखा यादवले विदेशमा समेत नेपाली मिडियाले अग्रणी भूमिका निभाएको बताएकी छिन्। 

अस्ट्रेलियाको सिड्नीमा रहेर सामुदायिक पत्रकारितामा गर्दै आएको वचन न्युजको वार्षिकाेत्सव तथा कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदूत यादवले आफ्नो पेसाको मान र सान राख्नका लागि पनि निष्पक्ष भएर कलम चलाउनु जरुरी रहेको  बताइन्। वचन न्युजले समुदाय जोड्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ ।  
कार्यक्रममा अस्ट्रेलियामा स्थायी बसोबास गर्ने पहिलो नेपालीका रूपमा चिनिएका नारायण प्रधान, नेपाल अस्ट्रेलियन डेमोक्य्राटिक फोरमका पूर्वअध्यक्ष अजय सिवाकोटी, सुरक्षा थापा रायमाझी, एन्टाका पूर्वअध्यक्ष सुवांश साह, बहुसांस्कृतिक समाज समन्वय अधिकृत मुन लुओ र नेपाली क्रिकेट प्रशिक्षक जगत टमाटालाई राजदूत यादवले सम्मान प्रदान गरेकी थिइन्।  

कार्यक्रममा बोल्दै एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले छोटो समयमा नेपाली समाजमा लोकप्रिय बनेको वचन न्युजले यसरी नै सक्रियता कायम राख्ने विश्वास व्यक्त गरे ।  

नेपाल–अस्ट्रेलिया पत्रकार संघका अध्यक्ष कृष्ण तिवारीले अस्ट्रेलियामा नेपाली समुदाय बढ्दै गर्दा सञ्चारमाध्यमको महत्त्व पनि बढेको बताउँदै यसले दिने सन्देश सत्यतथ्यमा आधारित भएर निष्पक्ष हुनुपर्ने बताए ।

कार्यक्रमलाई सघाउने आरएफएम फेसिलिटी मेनेजमेन्टका रञ्जित शाह र जेनिथ माइग्रेसनका तेज प्रजापतीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा एनआरएन ओसेनिया संयोजक दिनेश पोखरेल, सहसंयोजक अरुण ठाकुर, तमु समाजका अध्यक्ष हेउपति गुरुङ, नारी निकुन्जकी संयोजक संगीता चापागाईं, नारी निकुन्जकी पूर्वसंयोजक सन्ध्या शाह, एन्जाका महासचिव गणेश भट्ट, सल्लाहकार डा. राजु मानन्धरलगायतले वचन न्युजको सफलताको शुभकामना प्रदान गरेका थिए ।

वचन न्युजका प्रधान सम्पादक जीवन रायमाझीले समुदायको ऐनाको रूपमा रहेको सञ्चारमाध्यम र समुदाय एक–आपसमा जोडिएका कारण प्रवासमा रहेर पनि नेपाली समुदायको हितमा समर्पित व्यक्तित्वहरूको सम्मान गर्नु यसको प्रमुख उद्देश्य रहेको बताए। 
 

सुझावित समाचार