आइपिएल–२०२५ :आफ्नै रेकर्ड बराबरी गर्न चुक्यो हैदराबाद

गत संस्करणमा बेंगलुरुविरुद्ध आफैँले बनाएको २८७ रनको सर्वाधिकको योगफल बराबरी गर्न हैदराबाद १ रनले पछि पर्‍यो

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण

सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल)मा आफ्नो नाममा रहेको सर्वाधिक योगफलको कीर्तिमान बराबरी गर्न चुकेको छ । सिजन २०२५ को आइपिएलअन्तर्गत आइतबार भएको दोस्रो खेलमा हैदराबादले राजस्थान रोयल्सविरुद्ध २८६÷६ को स्कोर गरेको थियो । कीर्तिमानी योगफल पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २४२ रन बनायो ।

हैदराबाद आफ्नो पहिलो खेलमा ४४ रनले विजयी भयो । गत संस्करणमा हैदराबादले रोयल्स च्यालेन्जर्स बेंगलुरुविरुद्ध आइपिएल इतिहासमै सर्वाधिक २८७ रन बनाएको थियो । चालू सिजनमा हैदराबाद सो रेकर्ड बराबरी गर्न १ रन तथा आइपिएलमा सर्वाधिक योगफल खडा गर्न २ रनले चुकेको छ । यद्यपि, हैदराबादले आइपिएलमा दोस्रो सर्वाधिक स्कोर राख्न सफल भएको छ । गत वर्ष नै हैदराबादले मुम्बई इन्डियन्सविरूद्ध २७७ रन बनाएको थियो ।

पहिलो ब्याटिङ गरेको हैदराबादले तेस्रो क्रमका ब्याट्सम्यान ईशान किसनको आक्रामक शतकीय इनिङ्सको साथ पायो । किसनले ४७ बलमा ११ चौका र ६ छक्का प्रहार गरी १०६ रनको योगदान दिए ।  नीतीशकुमार रेडी र हेन्रिक क्लासेनसँग तेस्रो तथा चौथो विकेटका लागि मजबुत साझेदारी गरेका थिए । राजस्थानले पहिलो तीन विकेट ५० रनमा गुमाएको थियो । सञ्जु सामसन र ध्रुव जुरेलले चौथो विकेटका लागि १११ रनको साझेदारी गर्दै टोलीलाई १३.६ ओभरमा १६१–४ को बलियो अवस्थामा राखे । 

 चेन्नई चार विकेटले विजयी
चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई चार विकेटले हराएको छ । पहिलो ब्याटिङ गरेको मुम्बईले २० ओभरमा नौ विकेट गुमाएर १५५ रनको मध्यम योगफल खडा गरेको थियो । प्रत्युत्तरमा चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाएर १५८ रन जोड्यो । आइपिएल इतिहासमा मुम्बई लगातार १३औँ सिजनमा आफ्नो पहिलो खेलमा पराजित भएको छ । टोलीलाई पहिलो खेलमै जित दिलाउने क्रममा चेन्नईका ओपनर सचिन रबिन्द्राले ४५ बलमा दुई चौका र चार छक्का प्रहार गरी सर्वाधिक ६५ रनको योगदान दिए । चेन्नईका रुतुराज गैकवाडले २६ बलमा ६ चौका र तीन छक्का प्रहार गरी ५३ रनको योगदान दिए । 

यसअघि ब्याटिङ गरेको मुम्बईका कप्तान सूर्यकुमार यादवले २६ बलमा दुई चौका र एक छक्का प्रहार गरी २९ रन बटुले । यसैगरी, तिलक बर्माले २५ बलमा समान दुई चौका र छक्का प्रहार गरी ३१ रन जोडे । दीपक चहरले १५ बलमा समान दुई चौका र छक्का प्रहार गरी गर्दै २८ रन जोडे । बलिङमा चेन्नईका नुर अहमेदले १८ रन खर्चेर चार र खलिल अहमादले २९ रन खर्चेर तीन विकेट हात पारेका थिए । 

सुझावित समाचार