अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार कार्यसमिति बैठक बोलाएको छ । बैठकमा १६ वटा एजेन्डामाथि छलफल हुने भनिएको छ । तर, एजेन्डामा सहिद स्मारक ‘ए’ डिभिजन लिग समावेश छैन । ०८० जेठपछि फुटबलकै मेरुदण्ड मानिने ‘ए’ डिभिजन लिग आयोजना भएको छैन । यसअघि एन्फाका एकतिहाइ कार्यसमिति सदस्यले शीर्ष डिभिजन लिग आयोजना गर्न गत १३ माघमा कार्यसमिति बैठक आह्वान गरेका थिए । त्यसको ४० दिनपछि एन्फा सचिवालयले बैठक बोलाएको छ । एन्फाले बैठकको २४ घण्टाअघि मेलबाट कार्यसमिति सदस्यलाई एजेन्डा उपलब्ध गराएको छ ।
पछिल्लोपटक चर्च ब्वाइज लिग च्याम्पियन भएको थियो । त्यसवेलाको थ्री स्टार र एपिएफबिचको विवाद सल्टाउन नसक्दा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको नेतृत्वले लिग आयोजना गर्न नसकेको हो । एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले पटक–पटक ‘ए’ डिभिजन लिग आयोजनाका लागि बैठक आह्वान गर्न माग गरे पनि नेम्वाङले खासै चासो नराखेको बताए । ‘बारम्बार ‘ए’ डिभिजन लिग हुनुपर्छ भनिरहेका छौँ, तर अध्यक्ष नेम्वाङ र सचिवालय लिग आयोजना गर्ने मनसायमै छैनन्,’ खड्काले नयाँ पत्रिकासँग भने, ‘सोमबार बैठक बोलाइएको छ, तर हामीले राखेको मुख्य एजेन्डा नै बैठकमा समावेश छैन ।’
मुद्दा टुंगो नलाग्दा ढिलाइ
नेम्वाङ नेतृत्वले आफ्नो तीन वर्षको कार्यक्रममा लिगको साइकल पूरा गर्न सकेको छैन । सहिद स्मारक ‘सी’ डिभिजन लिग पूरा भइसकेको छ । तीन वर्षपछि ‘बी’ डिभिजन लिग गत फागुनको अन्तिम साता सुरु भयो । ‘ए’ डिभिजन लिगमा थ्री स्टार र विभागीय टोली एपिएफ क्लबबिचको मुद्दा टुंगो नलाग्दासम्म लिगबारे एन्फाले निर्णय गर्न सकेको छैन । थ्री स्टारले श्रम स्वीकृति नलिएका खेलाडी खेलाएको भन्दै ०८० को लिगमा रेलिगेसनमा परेको एपिएफले उजुरी राखेको थियो । एन्फाले थ्री स्टारलाई कारबाहीस्वरूप ५० हजार जरिवाना गराएको थियो । फिफाको नियमअनुसार श्रम स्वीकृति नलिई खेलाडी समावेश गर्ने क्लबको ३ अंक खोस्ने प्रावधान छ । तर, एन्फाले थ्री स्टारको अंक नखोसी केवल जरिवाना मात्र गरायो । एपिएफले अपिल कमिटीमा मु्द्दा राखेको छ । थ्री स्टार पनि अनुशासन समितिको निर्णय चित्तबुझ्दो नभएको भन्दै अपिल कमिटीमै पुगेको छ । दुवैको उजुरीपछि अपिल कमिटीले निर्णय गरेको छैन ।
राष्ट्रिय लिग गर्ने तयारी
‘ए’ डिभिजन लिग आयोजना गर्न नसकेको एन्फा राष्ट्रिय लिग गर्ने तयारीमा छ । एन्फाले ०८० जेठमा सम्पन्न लिगका शीर्ष ६ सहित प्रदेशबाट आएका चार टोलीलाई राष्ट्रिय लिगमा समावेश गर्ने तयारी गरेको छ । राष्ट्रिय लिग गर्ने भने पनि एन्फाले यसको खाका बनाउन सकेको छैन । ‘राष्ट्रिय लिग गर्ने तयारी छ । खाका तयार गर्ने योजनामै छौँ,’ एन्फा प्रवक्ता सुरेश शाहले भने, ‘सहिद स्मारक ‘ए’ डिभिजन लिग भने तत्काललाई नहुने भएको छ ।’
सिस्नेरी एकेडेमी एजेन्डामा
बैठकमा सिस्नेरी घटनाको प्रतिवेदन सार्वजनिक हुनेछ । मकवानपुरको एकेडेमीमा रहेका ६ विद्यार्थीको मृत्यु भएपछि एन्फाले छानबिन समिति गठन गरेको थियो । गत ११ र १२ असोजमा भीषण वर्षा र त्यसपछि आएको पहिरोमा परी एकेडेमीका प्रियान्स आचार्य, अनुपम घलान, विकल रेग्मी, साइमन योञ्जन, आदित्य बलम्पाखी र विवश बानियाँको मृत्यु भएको थियो । एन्फाले सोही प्रतिवेदन सार्वजनिक गर्ने र नयाँ एकेडेमी सञ्चालन गर्ने एजेन्डामा समावेश गरेको छ । त्यस्तै, वर्ष ०८/८१ को लेखापरीक्षण प्रतिवेदन र लेखापरीक्षक नियुक्त गर्ने, नियमित साधारणसभा, एन्फा प्रेसिडेन्ट लिग, खेलाडीको पुरस्कार वितरण तथा निर्वाचन समिति र निर्वाचन पुनरावेदन समिति तयार गर्ने एन्फाको एजेन्डा छ ।
राष्ट्रिय लिग गर्ने तयारीमा छौँ
सुरेश शाह, प्रवक्ता, एन्फा
यसपटक हामी राष्ट्रिय लिग फुटबल गर्ने तयारी छौँ । लिगको खाका तयार भइरहेको छ । सवै तहको तयारी भएपछि छिट्टै राष्ट्रिय लिग हुने छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग भने तत्काललाई नहुने भएको छ ।
लिगको एजेन्डा माग गरे पनि नेतृत्व पन्छियो
वीरबहादुर खड्का, वरिष्ठ उपाध्यक्ष, एन्फा
एकतिहाइ सदस्यले गत माघमै सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्न माग गर्दै बैठक आह्वान गरेका थियौँ । २१ दिनभित्र बैठक बेलाउनुपर्ने थियो, तर ४० दिनपछि बैठक बोलाइएको छ । त्यसैले यो बैठक नै अवैधानिक छ । फेरि सात दिनअघि एजेन्डा दिनुपर्ने थियो । हामीलाई आइतबार मात्रै आएको छ । हामीले महासचिवको पारिश्रमिक घटाउने एजेन्डा पनि माग गरेका थियौँ । जुन एजेन्डामै छैन । नेतृत्व फुटबल विकासमा भन्दा पनि व्यक्तिगत स्वार्थमा रहेर फुटबल सक्काउने धन्दामा लागेको छ ।