विश्वकपको उपविजेता भएपश्चात् नेपालमा खोखो खेलको विकासका लागि ऐतिहासिक रूपमा लिग चरणको सुरुवात भएको छ।
लुम्बिनी प्रदेशको बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिकामा रहेको नेपालको पहिलो खोखो कभर्ड हलमा २३ चैत्रदेखि नेपाल खोखो लिग (ड्रिम खोखो) हुँदै छ।
३० चैत्रसम्म सञ्चालन हुने लिगमा ५ वटा टिम सहभागी हुनेछन्। प्रतियोगिताका लागि ठाकुरबाबा नगरपालिकास्थित नेचर नेस्ट रिसोर्टको प्रायोजनमा प्रशिक्षक र मार्की खेलाडीको अक्सन सम्पन्न भइसकेको छ। ड्याली कन्स्ट्रक्सन राइनोज, नेचर नेस्ट टाइगर्स, विकासप्रेमी ब्ल्याक बक, सुदूरपश्चिम किङ्स र कञ्चन गैडहवा रोयल्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
पहिलोपटक सञ्चालन हुन लागेको लिग ठाकुरबाबा नगरपालिकाको मुख्य प्रवर्द्धकत्व, नेपाल खोखो संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवर्द्धन र लुम्बिनी प्रदेश खोखो संघको व्यवस्थापनमा सञ्चालन हुँदै छ।
ड्याली कन्स्ट्रक्सन राइनोजले विक्कीराज महर्जनलाई प्रशिक्षक र राजन वललाई मार्की खेलाडी नियुक्त गरेको छ। नेचर नेस्ट टाइगर्सले प्रशिक्षक खगेन्द्रबहादुर शाही र मार्की खेलाडी विकरालसिंह रत्गैया, विकासप्रेमी ब्ल्याक बकले प्रशिक्षकमा श्याम बुढाथोकी र मार्की खेलाडीमा झलक विकलाई रोजेको छ।
यसैगरी, सुदूरपश्चिम किङ्सको प्रशिक्षकमा नागराजु नाथ र मार्की खेलाडीमा हेमराज पनेरू तथा कञ्चन गैडहवा रोयल्सको प्रशिक्षकमा राजकुमार थापा र मार्की खेलाडीमा भरत सारुमगर छन्।