अछाम पञ्चदेवल विनायक नगरपालिका–४ को ऋषिकुल मावि लागुऔषध दुर्व्यसनीको अखडा बनेको छ। जहाँ विद्यार्थी, शिक्षक दुवै लागुऔषधको दलदलमा फसेका छन्। यो विद्यालयका अधिकांश कक्षाहरूमा छिर्नेबित्तिकै दारु, चरेस, चुरोट र सुर्ती ह्वास्स गन्हाउने गरेको विद्यार्थी अखण्ड चलाउनेले बताए।
‘सरहरू नै दारुले मातेर आउँछन्, ’उनले भने, ‘विद्यार्थीहरूको हालत पनि उही हो।’ आइतबार वडा नम्बर ४ को कार्यालयमा आयोजित बाल कचहरीमा बोल्दै चलाउनेले यसबारे विद्यालय प्रशासन र वडा कार्यालयमा पटक-पटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे। ऋषिकुलमै पढ्ने खेमराज विकले पनि लागुऔषधले विद्यालय नै अशान्त बनेको बताए।
शिक्षकसँगै दैनिक २५ प्रतिशत बढी विद्यार्थीहरूले लागुऔषध प्रयोग गर्ने गरेको उनको भनाइ छ। ‘हाम्रो हेडसरले दुर्व्यसनीमा फसेकाहरूको तथ्यांक निकाल्नुभएको छ,’ उनले भने, ‘अहिले त्यो संख्या २५ प्रतिशत छ। ३/४ जना शिक्षक पनि लागुऔषध सेवन गर्छन्।’ शिक्षकहरूले विद्यालय हाताभित्रै धुमपान गरेको देखिनु त सामान्यजस्तै बनेको उनले बताए। उनीहरू दिउँसो कक्षा समयमा समेत भट्टी छिर्ने गरेको बाल कचहरीमा सहभागी अधिकांश विद्यार्थीहरूको आरोप छ।
ऋषिकुल माविका प्रधानाध्यापक गणेशबहादुर शाहीले शिक्षकहरूमा यो समस्या रहेको स्वीकार गरे। ‘उनीहरूमा यो समस्या छ,’ उनले भने, ‘तर, अन्य समयमा देखे पनि विद्यालयमै मदिरा सेवन गरेको थाहा छैन, यदि त्यसो हो भने कारबाही गर्छु।’ उनले यस्तो गम्भीर समस्याबारे विद्यार्थीहरूले समेत विद्यालय प्रशासनलाई जानकारी गराउनुपर्ने बताए।
वडा नम्बर ४ मै रहेको महेन्द्र माविका प्रधानाध्यापक प्रेम सिजापतीले लागुऔषधको असरप्रति चिन्ता व्यक्त गरे। उनले घर, समाज र विद्यालयसम्म यो समस्या रहेको भन्दै समस्या भएका ठाउँमा त्यसको समाधानका उपाय खोजिनुपर्ने बताए। अम्बिका माविका सहायक प्रधानाध्यापक गोपाल विष्टले बाल विकास र समृद्धिका लागि स्थानीय सरकार अग्रसर नभएसम्म यस्ता समस्याको समाधान सम्भव नहुने बताए। उनले योबाहेक अन्य विभेदको अवस्थामा भने राम्रो सुधार आएको बताए। वडाध्यक्ष हर्कबहादुर बडुवालले लागुऔषधले विद्यार्थी र शिक्षक मात्र नभएर अभिभावकसम्मै यसको प्रभाव रहेको बताए।
यसको सुधारका लागि त्यस्ता समुदायका व्यक्तिलाई विशेष प्रशिक्षण दिने तयारी भइरहेको उनको भनाइ छ। ‘यसमा काउन्सिलिङ खाँचो छ,’ उनले भने, ‘हामी प्रहरीमार्फत प्रशिक्षण दिने तयारीमा छौँ। यति गरे सुधार हुने अपेक्षा छ।’ बाल सरोकारका विषयमा काम गर्दै आएको वर्ल्ड भिजन र आस्था नेपालका फिल्ड अधिकृत डिलबहादुर शाहीका अनुसार यो वडामा लागुऔषधकै कारण बाल समृद्धिमा बाधा भइरहेको छ। जसले गर्दा बालबालिका मात्र नभएर आमाहरूको स्वास्थ्यमा समेत प्रभाव परेको देखिन्छ।