तिलोत्तमा गोल्ड कप प्रतियोगिता सुरु

शनिबार, ८ चैत, २०८१
डिजिटल संस्करण

२३औँ तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले नगरभित्र खेलकुद विकास र युवा खेलाडी उत्पादन गर्ने गरी सरकारको खेल क्षेत्रमा लगानी गरेको बताए । 

यो वर्ष पुरस्कार राशिमा अघिल्लो संस्करणभन्दा एक लाख वृद्धि गरिएको रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनले बताए । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २२२ र उपविजेता टिमले ६ लाख, ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् । 

यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार, कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई नगद ११ हजार १११ रुपैयाँबाट पुरस्कृत गरिनेछ। 

यो वर्ष आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज युनाइटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिम एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन्। १६ चैतसम्म सञ्चालन हुने प्रतियोगितामा एक करोड आठ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ। 

आयोजक करेन्ट रुपन्देही–११ र एपिएफ क्लबबिच भएको उद्घाटन खेलको पहिलो हाफमा एपिएफ ले १–० गोलको अग्रता लिएको छ। निक्कै प्रतिस्पर्धात्मक खेलको १७औँ मिनेटमा एपिएफका हरि कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाए। 

दोस्रो हाफ सुरु भएसँगै हावाहुरी चलेपछि खेल रोकियो। लामो समय मौसम प्रतिकूल भएपछि खेल स्थगित गर्ने निर्णय भएको संघका अध्यक्ष लोक पुनले बताए। स्थगित खेल आइतबार बिहान ८ बजे हुनेछ। आइतबार दिउँसो चर्च ब्याइज युनाइटेड र नेपाल पुलिस क्लबका बिचमा हुनेछ ।
 

सुझावित समाचार