लुम्बिनीमा सम्पन्न तेस्रो लुम्बिनी पिस म्याराथनको उपाधि भारतीय सेनाका अनिश थापामगरले जितेका छन् ।
दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति तथा ध्यान महोत्सव कार्यक्रमअन्तर्गत चिनियाँ दूतावासको सहकार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल ओलम्पिक कमिटीसहित विभिन्न निकायले म्याराथनको आयोजना गरेका हुन्।
प्रतियोगितामा फोर एट गोर्खा राइफल्सका मगरले २ घण्टा २० मिनेट १८ सेकेन्डमा ४२ किलोमिटर दूरी पूरा गरी प्रथम स्थान हासिल गरेका हुन्। उनले उपाधिसँगै तीन लाख ५० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
यसैगरी, त्रिभुवन आर्मी क्लबका सुशीलकुमार शाही दोस्रो बने। उनले २ घण्टा २० मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पूरा गरी २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन्।
केन्याका धावक स्टेफेन कोस्गेईले दुई घण्टा २० मिनेट ४७ सेकेन्डमा म्याराथन पूरा गरी तेस्रो स्थान हासिल गरेका छन्। उनले एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे।
२१ किलोमिटरको महिला हाफ म्याराथनमा एक घण्टा २० मिनेट ५ सेकेन्डमा दूरी पूरा गरी सन्तोषी श्रेष्ठले प्रथम स्थान हासिल गरिन्। उनले एक लाख ५० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् । त्रिभुवन आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले २ घण्टा २१ मिनेट ४९ सेकेन्डमा दूरी पूरा गर्दै एक लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन्। चीनकी चेन वेईले २ घण्टा २६ मिनेटमा दूरी पूरा गरी तेस्रो स्थान हासिल गर्दै ८० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन्।
बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको उक्त प्रतियोगितामा पुरस्कृत खेलाडीहरूलाई चीनका राजदूत चेन सोङ र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए।
