वीरगन्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी उम्मेदवार आर्जु राय विजयी भएकी छिन्। रायले १०३ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिस्पर्धी नेविसंघकी दियान्सु श्रेष्ठले ९५ मत प्राप्त गरिन् ।
यस्तै, अखिल क्रान्तिकारीबाट सभापतिकी उम्मेदवार कविता आचार्यले भने ७२ मत प्राप्त गरिन्।
यस्तै, सचिवमा नेविसंघकी मन्दिरा चिमोरिया विजयी भएकी छन्। चिमोरिया १०४ मत ल्याएर विजयी भएकी हुन् ।
उनकी निकटतम प्रतिस्पर्धी अनेरास्ववियुकी शीलाकुमारी चौहानले ९६ मत प्राप्त गरिन् भने अखिल क्रान्तिकारीकी सचिवकी उम्मेदवार सरस्वती श्रेष्ठले ६६ मत प्राप्त गरिन्।
कोषाध्यक्षमा अनेरास्ववियुकी आसिका पौड्याल ११५ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेविसंघकी रमिताकुमारी साहले ८५ मत पाइन् ।
अखिल क्रान्तिकारीका तर्फबाट कोषाध्यक्षकी उम्मेदवार अन्जु सुनारले भने ६९ मत मात्रै पाइन् ।
यस्तै, प्रत्यक्षतर्फका पाँच सदस्यमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । प्रत्यक्षतर्फका सदस्यहरूमा अनेरास्ववियुका यशोदा विष्ट, सुनिता श्रेष्ठ, विशेषता शाही ठकुरी, प्रदिल घिसिङ र चाँदनी यादव विजयी भएका छन् ।
वीरगन्ज नर्सिङ क्याम्पसमा गत मंगलबार भएको निर्वाचनमा कुल २७३ मतमध्ये २७२ मत खसेको थियो । मंगलबार बेलुकीदेखि नै मतगणना सुरु भएको थियो ।