रामेछापको दोरम्बा शैलुङ गाउँपालिका– ३ टोकरपुरको छहरेछाप सामुदायिक वन र सोही स्थानको लालीगुराँस सामुदायिक वनमा १ चैतदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।
टोकरपुरको छहरेछाप र लालीगुराँस सामुदायिक वनबाट सल्किएको आगो अहिले शैलुङ क्षेत्रमा लागिरहेको छ। नजिक मानव बस्ती नभएको सामुदायिक वनमा लागिरहेको उक्त डढेलो निभाउने प्रयाससमेत भएको छैन। सुरुमा आगलागी भएको स्थानमा मानवबस्ती भएकाले त्यस स्थानमा सुरुका दुई दिन सुरक्षाकर्मी र स्थानीयले डढेलो निभाउन प्रयास गरे पनि सफल हुन नसकेपछि त्यत्तिकै छाडेका थिए।
टोकरपुरका दुुई सामुदायिक वनबाट सल्किएको डढेलो अहिले शैलुङको चुलीथुम्कामा पुगेको छ। दोरम्बा शैलुङ गाउँपालिकाको गरिबसँग विश्वेश्वर कार्यक्रमका सामाजिक परिचालक तारा मोक्तानका अनुसार शैलुुङ क्षेत्रमा घना जंगल रहेकाले आगो निभाउन सक्ने अवस्था छैन। उनले भने, ‘अहिले आगलागी भइरहेको क्षेत्र धेरै ठुलो छ। त्यस जंगलमा सुकेका रुखहरू धेरै भएकाले पनि आगो नियन्त्रणमा आउने अवस्था छैन।’
सो वनमा आगजनी गर्दा गर्दै स्थानीयहरूले सोही गाउँका ५० वर्षीय पदमबहादुर विक र उनका भाइ ४५ वर्षीय चन्द्रबहादुर विकलाई प्रक्राउ गरी प्रहरीमा जिम्मा लगाएका थिए। पक्राउ परेका उनीहरूलाई अनुुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रामेछापले डिभिजन वन कार्यालयमा बुुझाएको छ।