प्रधानमन्त्री कप क्रिकेट : सातौँ खेलसम्म पुलिसको अपराजित यात्रा

पुलिसको अपराजित यात्रा कायम राख्ने क्रममा ओपनर कुशल भुर्तेलले लगातार तेस्रो खेलमा अर्धशतक पूरा गरे

शुक्रबार, ७ चैत, २०८१
डिजिटल संस्करण

विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रा लगातार सातौँ खेलसम्म पु¥याएको छ । बिहीबार एक्ट्राटेक ओभलमा पुलिसले बागमती प्रदेशलाई ९३ रनले हरायो । यो खेलसँगै पुलिसका ओपनर कुशल भुर्तेलले पिएम कपमा एक हजार रन पूरा गरेका छन् । टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा बागमतीले ४५.२ ओभरमा सबै विकेट गुमाउँदा मात्र २०४ रन बनायो । जितसँगै शीर्ष स्थानको पुलिसले सात खेलबाट १४ अंक जोडेको छ । यो जितले पुलिसको फाइनल खेल्ने सम्भावना उच्च बनेको छ । पराजित बागमती ६ खेलबाट ४ अंकका साथ आठौँ स्थानमा छ ।

लक्ष्य पछ्याएको बागमतीका लागि ईशान पाण्डेले ९८ बलमा ६ चौकासहित सर्वाधिक ७० रन बनाए । शुभ कसांकारले ३६, विपिन आचार्यले १०, सूर्य तामाङले १७, प्रतिश जिसीले १५, आशुतोष घिरैयाले १२, कप्तान पृथु बास्कोटाले ११ र रिजन ढकालले १० रनको योगदान गरेका हुन् । दोस्रो विकेटका लागि ईशान र शुभले ७४ रनको साझेदारी गरे । पुलिसका लागि ललितनारायण राजवंशीले चार, कुशल भुर्तेलले तीन, करण केसीले दुई र गुल्सनकुमार झाले एक विकेट लिए ।

यसअघि पुलिसका लागि प्लेयर अफ दी म्याच कुशल भुर्तेलले ९८ बलमा ११ चौकासहित सर्वाधिक ८८ रन बनाएका थिए । यो मैदानमा कुशलको लगातार तेस्रो अर्धशतक हो । यसअघि कोशी र लुम्बिनी प्रदेशविरुद्ध पनि कुशलले अर्धशतक बनाएका थिए । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ४६ बलमा चार चौका र तीन छक्कासहित ६० रनको योगदान गरेका थिए । त्यस्तै, अमृत श्रेष्ठले ४८, आरिफ शेखले ३८, गुल्सनकुमार झाले १६ र दिलीप नाथले १० रन बनाए । पहिलो विकेटका लागि कुशल र अमितले १५४ तथा चौथो विकेटका लागि दीपेन्द्र र आरिफले ९२ रनको बलियो साझेदारी गरेका थिए । बागमतीका लागि प्रतिश जिसीले सर्वाधिक विकेट लिएका थिए । 

कर्णालीको तेस्रो जित
रोमाञ्चक खेलमा लुम्बिनी प्रदेशलाई ५ रनले पराजित गर्दै कर्णाली प्रदेशले प्रतियोगितामा तेस्रो जित निकालेको छ । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले ४८.५ ओभरमा सबै विकेट गुमाउँदा २०६ रनको लक्ष्य प्रस्तुत गर्यो । प्रत्युत्तरमा लुम्बिनीले ४९.४ ओभरमा मात्र २०० रन बनायो । जितसँगै ६ खेलमा ६ अंक जोडेको कर्णाली पाँचौँ स्थानमा उक्लिएको छ । पराजित लुम्बिनी सात खेलबाट ८ अंकका साथ तेस्रो स्थानमा छ । 

लुम्बिनीका लागि प्रज्वल थापाले १०७ बलमा ६ चौकासहित सर्वाधिक ८४ रन बनाएका थिए । कप्तान देव खनालले ४०, आकाश त्रिपाठीले २१ र मनीष थापाले १६ रन बनाएका हुन् । चौथो विकेटका लागि प्रज्वल र देवले ९४ रनको साझेदारी गरे पनि टोलीको हार टार्न सकेनन् । कर्णालीका लागि दीपेन्द्र रावत र दिनेश अधिकारीले समान तीन विकेट हात पारे । 

यता, कर्णालीका लागि दीपेन्द्र रावतले ८४ बलमा नौ चौकासहित  सर्वाधिक ६६ रनको योगदान गरेका थिए । यसैगरी, अर्जुन घर्तीले ८४ बलमा तीन चौका र दुई छक्कासहित ५६ रन बनाएका हुन् । सातौँ विकेटका लागि दीपेन्द्र र अर्जुनले १०२ रनको साझेदारी गरे । लुम्बिनीका लागि रमेश कुर्मीले तीन विकेट लिएका थिए ।

सुझावित समाचार