माथिल्लो तामाकोशी आयोजनामा कार्यरत जिल्लावासी कर्मचारीले समान सुविधाको माग गर्दै आन्दोलन घोषणा गरेका छन् ।आयोजनाका जिल्लावासी र अन्य जिल्लाका कर्मचारीलाई दिइने अतिरिक्त सुविधामा विभेद भएको भन्दै उनीहरूले आन्दोलन घोषणा गरेका हुन् ।
माथिल्लो तामाकोशी आयोजनाको प्रवद्र्धक अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले स्थानीय कर्मचारीलाई ५० प्रतिशत र बाहिरी जिल्लाका कर्मचारीलाई ७५ प्रतिशत अतिरिक्त भत्ता उपलब्ध गराउँदै आएको छ । सोही कारण उनीहरूले बिहीबार एक विज्ञप्ति जारी गर्दै आइतबारसम्म आफूहरूको माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् । दोलखा जिल्लावासी करार कर्मचारी संघर्ष समितिका संयोजक रामबहादुर खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा माग सम्बोधन नभए कामकाज ठप्प पार्नेजस्ता चेतावनी दिएका छन् ।
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले दोलखावासी कर्मचारीको माग सम्बोधन हुने विश्वास दिलाउँदै तत्काल आन्दोलनको बाटो नरोज्न आग्रह गरेका छन् ।