एमालेले २० दिन जनप्रदर्शन गर्ने

११ चैतमा ६ हजार ७४३ वटै वडामा जनसचेतना कार्यक्रम

शुक्रबार, ७ चैत, २०८१
डिजिटल संस्करण

राजावादीको सक्रियता बढेपछि सरकारको नेतृत्व गरिरहेको एमाले सडकमा ओर्लिने भएको छ । उसले गणतन्त्रका पक्षमा २० दिने जनप्रदर्शन र विशेष सभाको घोषणा गरेको छ । पूर्वराजावादी समूहले राजतन्त्र पुनस्र्थापनाका लागि प्रतिगामी प्रयास गरिरहेकाले जनतालाई सचेत पार्दै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्यले अभियान घोषणा गरिएको एमालेले जनाएको छ । 

प्रदेश र जिल्ला अध्यक्षहरूसँग बिहीबार भर्चुअल बैठकमार्फत अभियान घोषणा गर्दै महासचिव शंकर पोखरेलले प्रभावकारी ढंगले कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए । ११ चैतबाट सुरु हुने सचेतना अभियान ३० चैतसम्म चल्नेछ । पहिलो दिन ११ चैतमा ६ हजार ७४३ वटै वडामा एकैदिन सचेतना कार्यक्रम सञ्चालन हुनेछ । अभियानअन्तर्गत १८ चैतमा धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा मोटसाइकल र्याली आयोजना हुनेछन् ।

सोही दिन ७७ वटै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना हुनेछ । २४ देखि ३० चैतसम्म बागमतीबाहेकका ६ वटै प्रदेशका धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा विशेष प्रदर्शन र जनसभा हुने एमालेले जनाएको छ । प्रदेश तहमा हुने विशेष सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने भएको छ भने जिल्ला तहको सभाका लागि आवश्यक परेका ठाउँमा त्यस्तो व्यवस्था गरिनेछ । 

पछिल्लो सचिवालय बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिप्रति गम्भीर रूपमा छलफल गरी पार्टी नेपालको संविधान र यसले संस्थागत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्यायजस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गरेको थियो । 

महासचिव पोखरेलले जनचेतना अभियान सञ्चालन गर्दा तथ्यका आधारमा गर्न पनि निर्देशन दिएका छन् । उनले पञ्चायतकालीन र लोकतन्त्रको अवधिमा भएका आर्थिक र सामाजिक विकासका साथै जनताको जीवनस्तरमा आएको व्यापक परिवर्तन सम्बन्धमा तथ्यगत विवरणसमेत जानकारी गराउन निर्देशन दिएका छन् । पञ्चायतको अन्त्यपछि कुल गार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, निरपेक्ष गरिबी दर, सडक सञ्जाल विस्तार, सञ्चार सुविधा, विद्युत् उत्पादनलगायत महŒवपूर्ण सूचकमा उपलब्धि भएको उनको भनाइ थियो ।

सुझावित समाचार