संखुवासभाको सदरमुकाम खाँदबारीमा सुविधासम्पन्न महिला आवासगृह तथा पुनर्स्थापना केन्द्र निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ।
जिल्ला समन्वय समिति संखुवासभाको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएको भवन बिहीबार एक कार्यक्रमबिच कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईको प्रमुख आतिथ्यतामा दातृ निकायहरू चेन्जिङ लाइभस नेपाल युएसएका रोबर्ट जेम्स टर्नर र एनोदर ब्रिक नेपाल क्यानडाका मेन्सी पोर्टनले जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यलाई भवन औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री राईले महिला आवासगृह तथा पुनर्स्थापना केन्द्रको स्थापनाले विभिन्न हिंसामा परेका महिला तथा बालिकाहरूले राहत पाउने बताए। भवन निर्माण गर्न सहयोग गर्ने दातृ निकायहरूको प्रशंसा गर्दै मन्त्री राईले केन्द्रलाई प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे।
जिल्लाका १० वटै स्थानीय तहको प्रतिनिधित्व गर्दै खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले जिल्लाका सबै पालिकाले सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताए। आवासगृह तथा पुनर्स्थापना केन्द्र पीडित महिलाहरूको लागि भएकाले सबै पालिकाले यसको दिगोपना र सञ्चालनका लागि सहयोग जुटाउनुपर्नेमा उनको जोड थियो।
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले विदेशी दाताहरूलाई धन्यवाद दिँदै महिला आवासगृह सञ्चालनको लागि स्थानीय तहहरूलाई अग्रसर बन्न आग्रह गरे। सबै स्थानीय तह एकजुट हुँदा सहज रूपमा सञ्चालन हुने उनको भनाइ थियो।
कार्यक्रममा विदेशी दातृ निकायका प्रतिनिधिहरूलाई नेपाली टोपी र चैनपुरे करुवा उपहारसहित सम्मान गरिएको थियो। उक्त महिला आवासगृह तथा पुनर्स्थापना केन्द्रबाट ९७ जना महिलाहरू हालसम्म लाभान्वित भएका छन्। साहाराविहीन महिलाहरूलाई उक्त केन्द्रमा ६ महिनासम्म राखेर मनोसामाजिक परामर्शसहित जीविकोपार्जनका सीपहरू सिकाइनेछ।
सोडेक संस्थाले दातृ निकायको सहयोगमा ०७८ चैत्र १ गतेदेखि पुनर्स्थापना केन्द्र सुरु गरेको थियो। हालसम्म उक्त महिला आवासगृह तथा पुनर्स्थापना केन्द्र भाडाको घरमा सञ्चालनमा रहेको थियो। जिल्ला समन्वय समिति संखुवासभाको स्वामित्वमा रहेको खाँदबारी–८ स्थित महिला आवासगृह तथा पुनर्स्थापना केन्द्रको भवन निर्माण गरिएको हो।
दुई करोड १० लाख ६१ हजार ४७२ रुपैयाँ लागतमा चारतले भवन निर्माण गरिएको हो। सुविधा सम्पन्न उक्त भवनमा २० वटा कोठा र १३ वटा शौचालय रहेको छ। हिंसामा परेका बालिका, किशोरी तथा महिलाहरूको लागि सबै सुविधा भवनभित्र नै रहने गरी निर्माण गरिएको छ।