सिलबन्दी नम्बर मेल नखाएपछि ठाकुरराममा मतगणना अवरुद्ध

बिहिबार, ६ चैत, २०८१
डिजिटल संस्करण

वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतगणना रोकिएको छ। चैत ५ मा मतदान भएपछि मतपेटिकामा लगाइएको सिलबन्दी नम्बर मेल नखाएपछि मतगणना रोकिएको हो।

मतदान सकिएलगत्तै निर्वाचन समितिले मतपेटिका सिल गरेर मुचुल्का उठाउने क्रममा उम्मेदवारका प्रतिनिधिहरूलाई सिलबन्दी नम्बर दिएको थियो। तर, केही मतपेटिका खोल्ने क्रममा उम्मेदवारका प्रतिनिधिसँग रहेको नम्बर र मतपेटिकामा रहेको नम्बर मेल नखाएपछि विवाद भएको हो।

मतपेटिकाको सिलबन्दी नम्बर फरक परेपछि मतगणनामा खटिएका उम्मेदवारका प्रतिनिधिहरूले क्याम्पस प्रशासन र निर्वाचन समितिविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्।

समितिले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार सभापति पदमा नेविसंघबाट विद्रोह गरेर नेपाल विद्यार्थी समूह नामबाट उम्मेदवार बनेका राजकुमार यादव अग्रस्थानमा छन्। यादव ४२० मतका साथ अघि बढ्दा उनलाई नेविसंघका विकास मण्डल धानुकले २६१ मतका साथ पछ्याइरहेका छन्।

तेस्रो स्थानमा रहेका समाजवादी विद्यार्थी युनियनका हरिकिशोर यादवले २२१ मत, सुधीर पटेल समूहका उम्मेदवार कमलेश यादवले २०४ मत र पाँचौँ स्थानमा रहेका अनेरास्ववियुका पवन यादवले १५० मत पाएका छन्।

ठाकुरराम बहुमुखी क्याम्पसमा १६ वर्षपछि यसपालि भएको स्ववियु निर्वाचनमा सभापति पदमा १४ जना उम्मेदवार छन्। कुल १० हजार ७२९ मतदाता रहेको क्याम्पसमा ४० प्रतिशत मात्रै अर्थात् ४ हजार २९९ मत मात्रै खसेको थियो।

सुझावित समाचार