साताको अन्तिम कारोबार दिन पनि नेप्से परिसूचकमा गिरावट आएको छ। बिहीबार नेप्से १२.८४ अंकले घटेर दुई हजार ६६९.३१ विन्दुमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४९ प्रतिशतले घटेको छ।
आज ३१२ कम्पनीका ९५ लाख ९९ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्ब ५६ करोड १३ लाख ११ हजार रुपैयाँबराबरको कारोबार भएको छ। बुधबार पाँच अर्ब ११ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।
आज १७५ कम्पनीका सेयर मूल्य घट्दा ६२ कम्पनीको मूल्य मात्रै वृद्धि भएको छ। जसमध्ये दोल्ती पावर कम्पनी सर्वाधिक (६.९० प्रतिशत) वृद्धि भएको छ। यसैगरी, एसियन हाइड्रोपावर र सिन्धु विकास बैंकको सेयर मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढ्दा गार्जियन माइक्रोलाइफ इन्स्योरेन्स चार प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
घटेको बजारमा मिथिला लघुवित्त र भूगोल इनर्जी विकास कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। गरिमा समृद्धि योजना पनि आठ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ।
समूहगत रूपमा हेर्दा आज नेप्सेका १३ मध्ये व्यापार समूह ०.२६ प्रतिशतले वृद्धि हुँदा बाँकी सबै समूह घटेका छन्। वित्त सर्वाधिक १.२६ प्रतिशतले गिरावट हुँदा बाँकी समूह एक प्रतिशतभन्दा कमले घटेका छन्।