धरानको महेन्द्र बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानल विजयी भएको छ।स्ववियुको अध्यक्षमा नेविसंघका प्रसान राई निर्वाचित भए भने सचिवमा अनेरास्ववियुका पवन बस्नेत र कोषाध्यक्षमा नेविसंघकै आलोक लिम्बू निर्वाचित भएका छन्। अध्यक्षमा निर्वाचित भएका प्रसान राईले एक हजार २९१ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी समाजवादी विद्यार्थी युनियनका युवराज राई अलौकिकले ६ सय मत ल्याए । त्यस्तै, अखिल क्रान्तिकारीका तेजबहादुर राईले ९० मत प्राप्त गरेका छन् । अलौकिक यसअघिका स्ववियु अध्यक्षसमेत हुन् ।
त्यस्तै, सचिवमा निर्वाचित पवन बस्नेतले एक हजार १९३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी समाजवादी विद्यार्थी युनियनकी विनिता लिम्बूले ६७२ मत प्राप्त गरेकी थिइन् भने अखिल क्रान्तिकारीका एलन खड्काले १२० मत प्राप्त गरेका थिए। कोषाध्यक्षमा निर्वाचित आलोक लिम्बूले एक हजार ३०४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी समाजवादी विद्यार्थी युनियनका जितेन दुमी राईले ५३५ मत र अखिल क्रान्तिकारीका कञ्चन ल्वागुनले १३१ मत प्राप्त गरेकी थिइन् ।
संयुक्त प्यानलबाट सबै सदस्यहरू निर्वाचित भएका छन् । सदस्यमा निर्वाचित हुने ज्ञानेश राईले एक हजार २५५, नीरज राईले एक हजार २८६, अस्मिन लिम्बूले एक हजार २७९, स्मृति राइले एक हजार २५४, देवानी राईले एक हजार २४७, विशाल लिम्बूले एक हजार २५९, विराज श्रेष्ठले एक हजार २१३ र म्हार म्हेन्दो तामाङले एक हजार २२२ मत प्राप्त गरेका थिए । कुल चार हजार दुईजना मतदाता रहेको महेन्द्र बहुमुखी क्याम्पसमा दुई हजार १५० मत खसेको थियो ।