अधिनायकवादी तत्व तब मात्र बलिया हुन्छन्, जब उनीहरूका विरोधी भयले विभाजित हुन्छन् र मौन बस्छन्
अमेरिकाको अथाह सम्पत्ति र शक्ति मुख्य दुई स्तम्भमा अडिएको छ, पहिलो विश्वविद्यालय र दोस्रो व्यवसाय । विश्वविद्यालयले त्यस्ता विचार, अनुसन्धान र तालिम दिन्छ, जसले अमेरिकालाई विश्वभरका उत्कृष्ट प्रतिभाका लागि गन्तव्य बनाएको छ । व्यवसायले लगानी र नवीनताको प्रवाह गर्छ, जसले अमेरिकी अर्थतन्त्रलाई सञ्चालनमा राखेको छ । तर, अहिले राष्ट्रपति डोनाल्ड ट्रम्प यी दुवैलाई ध्वस्त पार्ने उद्देश्यले अघि बढिरहेका देखिन्छन् । उनको आर्थिक नीति सधैँ विचित्र देखिएको छ र उनले उच्च शिक्षण संस्थालाई ‘वोक’ (प्रगतिशील विचारलाई हियाएर बोलिने शब्द) संस्कृति फैलाउने थलो भनेर घृणा ओकल्दै आएका छन् । तर, सबैभन्दा चकित पार्ने विषय के छ भने ठुला व्यापारिक र शैक्षिक संस्थाका नेतृत्वकर्ताले ट्रम्पको रवैयाबारे खासै प्रतिक्रिया दिएका छैनन् ।
गत नोभेम्बरमा ट्रम्पको विजयपछि व्यापारिक क्षेत्रमा सतर्क र आशावादी थियो, किनभने पूर्ववर्ती जो बाइडेनका विपरीत ट्रम्पले कर कटौती, मजदुर युनियनमाथि नियन्त्रण र न्यून नियमनको वाचा गरेका थिए । उनको व्यापार युद्धसम्बन्धी बयान चिन्ताजनक थियो । तर, धेरैले यसलाई केवल प्रोपगान्डा मात्र ठानेका थिए । वास्तवमा प्रविधि क्षेत्रका अर्बपतिले उनको सत्ता हस्तान्तरणका लागि चन्दा दिएका थिए र शपथ समारोहमा पनि सहभागी थिए ।
तर, पछिल्ला केही साताले प्रविधि क्षेत्रको आशामा तुसारापात भएको छ । ट्रम्पका नीतिले अमेरिकी स्टक बजारलाई गत नोभेम्बरयताको सबै लाभ गुमाउन बाध्य पारेको छ । सबैभन्दा नजिकका साझेदार (क्यानडा, मेक्सिको र युरोप) माथि लगाइएका उच्च कर वा व्यापार नीतिबारे गरिने अनिश्चित एवं धम्कीपूर्ण अभिव्यक्तिमध्ये कुन कदम बढी हानिकारक हो भन्न गाह्रो छ । र, अनिश्चित एवं धम्कीपूर्ण अभिव्यक्तिले आर्थिक अनिश्चिततालाई सन् २००८ को विश्वव्यापी वित्तीय संकटका समयमा पुगेको तहभन्दा माथि पुर्याएको छ ।
यो समस्यालाई थप गहिरो बनाउने गरी इलन मस्कको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी’ले संघीय सरकारलाई अस्तव्यस्त बनाइरहेको छ । यसले कानुनी मापदण्डको उल्लंघन गरेर एक लाखभन्दा बढी सरकारी कर्मचारी हटाएको छ । विदेशी सहायता रोक्ने निर्णयको पछाडि केही कठोर आर्थिक तर्क हुन सक्छन्, तर सरकारको आधारभूत अनुसन्धान स्वास्थ्य, जैविक विज्ञान, शिक्षाजस्ता क्षेत्रमा समेत विनाकारण सहायता काटिएको छ । व्यापारिक समुदायका लागि ट्रम्प अमेरिकी प्रणालीका लागि स्पष्ट र तात्कालिक खतरा भएको बुझ्न गाह्रो छैन । यति मात्रै नभई उनी यस प्रणालीका आधारभूत स्तम्भ रहेका कानुनी शासन, शक्ति पृथकीकरण, विज्ञान र नवीनतामा सरकारी लगानी, सार्वजनिक पूर्वाधार र लोकतान्त्रिक साझेदारसँगको स्थिर सम्बन्धलाई तहसनहस गर्ने दिशामा अघि बढिरहेका छन् । वास्तवमा मस्कजस्ता व्यक्तिले यिनै उल्लिखित संस्थाको सहयोगमा सफलता प्राप्त गरेका हुन् । समयमै सरकारी ऋण नपाएको भए टेस्ला दिवालिया हुने थियो । तर, ट्रम्पले कुनै स्पष्ट रणनीति र समाधानविना अहिले यी सबै संस्थागत संरचनालाई लत्याइरहेका छन् ।
ट्रम्पको अमेरिकी विश्वविद्यालयविरुद्धको हमला अझ स्पष्ट छ । उनले आधारभूत चिकित्सा अनुसन्धानका लागि सरकारी सहयोगमा व्यापक कटौती गरेका छन् । यसबाहेक ‘यहुदीविरोधी गतिविधिविरुद्धको लडाइँ’का नाममा देशका प्रतिष्ठित विश्वविद्यालयका कोषलाई निराधार ढंगले रोकिएको छ । सुरुमा कोलम्बिया र जोन्स हप्किन्स विश्वविद्यालय निसानामा परे तर अब अन्य संस्था (जसमा म कार्यरत संस्था हार्बर्डसमेत) पनि संकटमा छन् । जब लोकतान्त्रिक संस्थामाथि हमला गरिन्छ, ठुला व्यापारिक तथा शैक्षिक संस्थाका नेताले बोल्ने विशेष जिम्मेवारी वहन गर्नुपर्छ । तर, न त व्यापारिक कार्यकारी, न विश्वविद्यालयका अध्यक्ष नै अगाडि आएका छन् । उनीहरूले हार्बर्डका राजनीतिशास्त्री रयान डी. इनोस र स्टिभन लेभिट्स्कीको शब्दमा ‘चुपचापको समर्पण’ गरेका छन् । उनीहरूले पर्दापछाडि काम गरेर आफूमाथि आउने सम्भावित खतरा कम गर्न सकिन्छ भनेर सोचिरहेका छन् । तर, इनोस र लेभिट्स्की यो रणनीति कहिल्यै सफल नहुने ठान्छन् । भेनेजुएलाका दिवंगत ह्युगो चाभेज, रसियाका भ्लादिमिर पुटिन, हंगेरीका भिक्टर ओरबान, भारतका नरेन्द्र मोदी र टर्कीका रेसेप तैयप एर्दोगानजस्ता अधिनायकवादी नेता जहिल्यै विश्वविद्यालयलाई निसाना बनाउँछन् र प्राज्ञिक स्वतन्त्रतालाई कुल्चन्छन् । सरकारद्वारा थोपरिएको वा संस्था आफूले नै लगाएको सेन्सरसिप अन्ततः सबै प्राज्ञिक संस्थाले भोग्नुपर्छ ।
यी अधिनायकवादी नेताको तुलनामा ट्रम्पको हमला थप तीव्र र नांगो ढंगबाट आएको छ । अब ‘उहाँ यस्तै बोल्नुहुन्छ, तर कार्यान्वयन गर्नुहुन्न’ भन्न मिल्दैन । कुनै पनि नागरिक संस्था वा सार्वजनिक नेतृत्वकर्ताले अब स्थितिलाई गम्भीरतापूर्वक नलिई धर छैन । अधिनायकवादी तत्व तब मात्र बलिया हुन्छन्, जब उनीहरूका विरोधी भयले विभाजित हुन्छन् र मौन बस्छन् । सामूहिक कारबाहीको यो दुःखद अवस्थामा जब सबैजनाले व्यक्तिगत रूपमा आफूलाई जोगाउन खोज्छन्, तब हामी सबै हार्छौं । त्यसैले अमेरिकाका प्रमुख विश्वविद्यालय र ठुला निगमले तत्काल पहलकदमी लिन आवश्यक छ ।
कल्पना गरी हेरौँ त देशका प्रतिष्ठित विश्वविद्यालयका अध्यक्ष, ठुला निगमका प्रमुख कार्यकारी अधिकारी, मजदुर युनियन, धार्मिक समूह र अन्य नागरिक संस्थाले कानुनी शासन, प्राज्ञिक स्वतन्त्रता र वैज्ञानिक अनुसन्धानको महत्ववबारे सामूहिक रूपमा एक सार्वजनिक बयान जारी गरे भने के होला ? यस्तो कदमले ट्रम्प र उनका सहयोगीलाई परिवर्तन गर्नेछैन, तर यसले लोकतान्त्रिक शक्तिलाई प्रोत्साहित गर्नेछ, संगठित गर्नेछ र तिनलाई अघि बढ्न मद्दत गर्नेछ । दसौँ लाख अमेरिकीले ‘कसैले आवाज उठाउने साहस कहिले गर्ने ?’ भनेर सोधिरहेका छन् । र, कम्तीमा जसले उठाउनेछन्, ती इतिहासको सही पक्षमा उभिनेछन् ।
(रोड्रिक हार्बर्ड केनेडी स्कुलका अन्तर्राष्ट्रिय अर्थराजनीतिका प्राध्यापक हुन्)
प्रोजेक्ट सिन्डिकेटबाट