मधेशको मुद्दालाई केन्द्रमा राखेर थुप्रै नेपाली चलचित्र बनेका छन् । यसै समूहमा चलचित्र ‘राजागंज’ पनि थपिएको छ । त्यसो त दुई बालकको अपहरण र अपहरणकारी पत्ता लगाउन प्रहरीले गरेको कामकारबाही र संघर्ष नै यस चलचित्रको मूल कथा हो, जुन खासै नौलो होइन । तर, विषय नौलो नभए पनि ‘राजागंज’ नेपाली चलचित्र क्षेत्रमा फरक स्वादको बनेको छ । एकदम अर्ग्यानिक अर्थात् मौलिक ।
‘राजागंज’मा दुई बालकको अपहरण हुन्छ र घटनाबारे अनुसन्धानका लागि काठमाडौंबाट गएकी इन्स्पेक्टर पूजा थापा (आशा मगराती, जो आफूलाई पूजा सर भनेर सम्बोधन गरियोस् भन्ने चाहन्छिन्) को नेतृत्वमा टोली खटिन्छ । अपराधी पत्ता लगाउन प्रहरी सफल हुन्छ या हुँदैन भन्ने विषयले चलचित्रलाई रोचक बनाएको छ । योसँगै अपहरणकारी पत्ता लगाउन गरिएको अनुसन्धानका क्रममा उजागर हुँदै गएका थुप्रै बेथिति चलचित्रका खास खुराक बनेका छन् ।
बालकहरू अपहरणमा पर्नुको कारण हरेकले आ–आफ्नै ढंगबाट विश्लेषण गर्छन् । यसमा अनुमानित व्यक्तिगतदेखि लिएर राजनीतिक कारणसमेत सामुन्ने आउँछन् । अपहरणमा परेका दुई बालक आलोक र अमृतमध्ये आलोक सभासद् प्रवीण यादवका छोरा हुन्छन् । यसैकारण यो घटना हाइप्रोफाइल केस बनिदिन्छ । तर, ती बालकसँगै अपहरणमा परेका अमृत, जो सामान्य घरका हुन्छन्, तीनको खोजतलास खासै चासोको विषय बन्दैन । त्यसकारण अमृतकी आमा (पशुपति राई)ले महारानी भनी सम्बोधन गरिने सभासद्की पत्नी–हेडमास्टर सबिता कोइराला/आलोककी आमा रिचा शर्मासँग ‘मेरो छोराको पनि कुरा गरिदिनुस् न महारानी’ भन्दै आग्रह गर्छिन् । यसले हाम्रो समाजको वर्गीय विभेदलाई प्रस्ट रूपमा दर्शाउँछ ।
चलचित्रले थुप्रै आयामलाई एउटै धागोमा बुन्न खोजेको छ । पूजा सरको माध्यमबाट उनले देखाउन खोजेको मधेश नौलो लाग्दैन, तर नमिठो लाग्छ । मधेशी र मधेशी महिला महिला हुनुको पीडा वा पहाडी भएर मधेशीजस्तो देखिनुको पीडा, प्रहरी प्रशासनमा महिला प्रमुख बन्दा खेप्नुपरेको प्रश्नको पीडालाई चलचित्रले दर्शाएको छ ।
चलचित्रको ओपनिङ सिनमा पूजा सरलाई प्रश्न गरिएको हुन्छ– महिला भएर राष्ट्रियस्तरको केस सम्हाल्दा कस्तो महसुस भयो ? कथा अघि बढ्दै जाँदा ‘मेल–डोमिनेन्ट’ क्षेत्रमा आफूलाई पुरुषजस्तै बलियो देखाउन पूजा सरले छातीको भाग पटुकाले कसेको, घर तथा समाजको अगाडि रमा (गौमाया गुरुङ) सँगको प्रेम लुकाउनुपर्ने बाध्यता, मुख्य पात्रले पारिवारिक समस्यालाई सुल्झाउन गरिरहेको प्रयास सान्दर्भिक छ ।
यी विभिन्न मुद्दाको तारतम्य मूल विषयवस्तुसँग जोडिँदै जान्छ । चलचित्रका निर्देशक दीपक रौनियार नेपाली चलचित्र क्षेत्रका गिनेचुने उत्कृष्ट निर्देशकमा पर्दछन् । उनीद्वारा निर्देशित चलचित्रले अन्तर्राष्ट्रिय सफलतासमेत पाइरहेकै हुन् । अझ रौनियार स्वयं मधेशकै भएर पनि होला ‘राजागंज’का हरेक दृश्यलाई उत्तिकै सजकतापूर्वक न्याय गरेका छन् ।
एउटा दृश्यमा मधेशी जोडी (आरती मण्डल र घनश्याम मिश्र)ले एक होटेलमा गएर मःम अर्डर गर्दा होटेल सञ्चालकले मःम छैन भनेर पुरी–तरकारी इंगित गरिएको विषयले झसंग बनाउँछ । मधेशमा पहाडीले मैथिली भाषा बुझ्दैनन् भनेर हिन्दी भाषा बोलेको दृश्य कति यथार्थपरक ! प्रहरीले सोधपुछका क्रममा घरघर गएर घुम्टो ओढेर बसेका गृहिणीहरूसँग प्रश्न गर्दा उनीहरू खुलेर नबोलेको दृश्य एकदम सत्य लाग्छ । वर्षा ऋतु, विश्वकर्मा पूजाको समय र संविधान घोषणा हुने कुराले भइरहेको मधेश आन्दोलनको टाइमफ्रेम पर्फेक्ट छ ।
त्यसैगरी वेला–वेला देखाइएका दृश्य जस्तै: शवयात्राको समयमा पनि गरिएको नेताको भाषण, ती मधेशी जोडीले मःम खाएको, केटीहरूको एक समूहले सेल्फ डिफेन्सको तालिम लिँदै गरेको, अपहरणको विषयलाई नेताले आफ्नो स्वार्थका लागि राजनीतीकरण गर्न खोजेको र प्रहरी अनुसन्धानमा पटकपटक हस्तक्षेप गरेको, प्रेसमिटमा धन्यवाद दिने क्रममा हेडमास्टरले महिला इन्स्पेक्टरको नाम नसम्झिएका दृश्य जति अब्बल छन्, उति नै सान्दर्भिक लाग्छन् ।
एकै किसिमको भूमिकामा दोहोरिइरहेका दयाहाङ राई चलचित्रमा भ्रष्ट प्रहरीको भूमिकामा छन् । ममता गुप्ताको भूमिकामा देखिएकी निकिता चण्डकको अभिनय उम्दा देखिन्छ । त्यस्तै, प्रहरीको भूमिकामा देखिएका विजय बरालको अभिनय उनका अन्य चलचित्रमा जस्तै अब्बल छ । हेडमास्टरको भाइको भूमिकामा केही दृश्यमा मात्र देखिएका नीरज श्रेष्ठको अभिनय जीवन्त छ । मुख्य कलाकारबाहेक आन्दोलनकारी, प्रहरी, व्यापारी, नेता, शिक्षक, घरमा काम गर्ने पात्र साथै पत्रकारको भूमिकामा मधेशी समुदायकै कलाकार राखिनुले चलचित्रमा सुनमा सुगन्ध थपिएको छ । तर, चलचित्रका कतिपय संवादमा सेन्सर लागेका कारण ती वाक्य सुन्दा केही खल्लो भने लाग्छ ।